रौतहट, ३० भाद्र। चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा सञ्चालन भइरहेको रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको बहुप्रतीक्षित फाइनल खेल बुधबार हुने भएको छ। फाइनलमा मुनलाइट एकेडेमी, चन्द्रनिगाहपुर र श्री जनता माध्यमिक विद्यालय, कटहरिया आमनेसामने हुँदैछन्।
प्रतियोगिताको फाइनल खेल भदौ ३१ गते बुधबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुर–बेतौनास्थित कोटिहोम क्रिकेट खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। यसअघि भदौ २४ गते फाइनल खेल हुने तय भए पनि प्राविधिक कारण तथा वर्षाका कारण खेल स्थगित हुँदै आएको थियो।भदौ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा रौतहट जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो। विभिन्न चरणका प्रतिस्पर्धापछि मुनलाइट एकेडेमी र श्री जनता माध्यमिक विद्यालय, कटहरिया फाइनलमा पुगेका हुन्। बुधबार हुने खेलले प्रतियोगिताको विजेता तथा उपविजेता निर्धारण गर्नेछ।

चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेले फाइनल खेलबाट प्रतियोगिताको विजेता निर्धारण हुने बताउनुभयो। उहाँले विद्यालय तहबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने र ग्रासरुट क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै यस्ता प्रतियोगिताले रौतहटमा क्रिकेटको आधार बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।“ग्रासरुट क्रिकेटको विकासका लागि यस्ता प्रतियोगिता निकै महत्वपूर्ण छन्। निरन्तर प्रतियोगिता र प्रशिक्षणको अवसर पाए रौतहटबाट पनि भविष्यमा राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन हुने विश्वास छ,” अध्यक्ष न्यौपानेले भन्नुभयो।
फाइनल खेलमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सका प्रिन्सिपल पूर्णबहादुर जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने भएको छ। लामो समयदेखि हेटौडाको शैक्षिक क्षेत्रमा सक्रिय तथा सम्मानित व्यक्तित्वका रूपमा परिचित जोशीको उपस्थितिले फाइनल खेलको रौनक थप बढ्ने र खेलाडीहरूलाई थप उत्साह मिल्ने आयोजकको विश्वास छ।

प्रतियोगिताको मुख्य प्रायोजक पनि हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्स रहेको आयोजकले जनाएको छ। विद्यालय तहका विद्यार्थीमा क्रिकेटप्रतिको रुचि बढाउने, प्रतिभावान खेलाडी पहिचान गर्ने तथा स्थानीय स्तरमा प्रतिस्पर्धात्मक क्रिकेटको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
आयोजक चन्द्रनिगाहपुर सिटी जेसीजका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक विकिज घिमिरेले फाइनल खेलमा दुवै टोलीका खेलाडी, विद्यालय परिवार, अभिभावक तथा सम्पूर्ण खेलप्रेमीलाई उपस्थित भई खेलाडीको हौसला बढाउन आग्रह गर्नुभयो । फाइनल खेलसँगै प्रतियोगिताले नयाँ विद्यालयस्तरीय क्रिकेट प्रतिभालाई पहिचान गर्ने अपेक्षा आयोजकको रहेको छ ।
Comments