नुवाकोट, २९ भाद्र / नेकपा एमालेको जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालले बाढीका कारण प्रभावित नुवाकोटको तारकेश्वर गाउँपालिका–२, तारुकाघाटस्थित गणेशमान सिंह स्मृति आधारभूत विद्यालयलाई करिब १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ। बाढीका कारण विद्यालय भवन प्रभावित भएपछि हाल तारुकाघाट उप–स्वास्थ्य चौकीबाट पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयलाई फेडेरेसनले स्मार्ट टिभी, स्पिकर, चार थान स्ट्यान्ड फ्यान, प्रारम्भिक बाल विकास (ECD) बुक सेट, कापी, पेन्सिल, बोर्ड, चार्टलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद प्रसाद भट्टराई, नेकपा (एमाले) बागमती प्रदेशका उपसचिव रमेश आचार्य, फेडेरेसनका उपाध्यक्ष शान्ति लामा, महासचिव खेम कार्की, बागमती प्रदेश अध्यक्ष एकराज उपाध्याय, केन्द्रीय सदस्यहरू सुदर्शन खतिवडा र विश्व भण्डारी तथा नुवाकोट जिल्ला अध्यक्ष किशोर अधिकारीलगायतको सहभागिता थियो।

त्यसैगरी विद्यालयकी प्रधानाध्यापक देउती अधिकारी, वडा सदस्य निर्मला आले मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम रिमाल, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा प्रधानाध्यापक देउती अधिकारीले विपद्का कारण कठिन अवस्थामा रहेका विद्यार्थीका लागि प्राप्त शैक्षिक सामग्री महत्वपूर्ण सहयोग भएको बताउनुभयो। उहाँले सामग्रीले अस्थायी स्थानबाट सञ्चालन भइरहेको पठनपाठनलाई सहज बनाउनुका साथै विद्यार्थीहरूको मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहयोगी संस्थाप्रति धन्यवाद दिनुभयो।

नेकपा (एमाले) बागमती प्रदेशका उपसचिव रमेश आचार्यले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले एमालेले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै विभिन्न जनसंगठनहरू पनि मानवीय सेवाका अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको बताउनुभयो।
रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद प्रसाद भट्टराईले विपद्का समयमा प्रभावित समुदायको आवश्यकता पहिचान गरी सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले राहत तथा उद्धारसँगै सामाजिक सेवाका अभियानलाई समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
फेडेरेसनका महासचिव खेम कार्कीले विपद्का कारण विद्यालयको पठनपाठन प्रभावित भएको अवस्थामा विद्यार्थीलाई आवश्यक शैक्षिक वातावरण उपलब्ध गराउनु फेडेरेसनको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण काम भएको बताउनुभयो। उहाँले विद्यार्थीको शिक्षा निरन्तरता र मनोबल उच्च राख्न यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रका विद्यालय तथा समुदायलाई सहयोग गर्ने बताउनुभयो।महासचिव कार्कीले विपद्पछि प्रभावित परिवार र विद्यार्थीहरूलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र शिक्षाको निरन्तरतामा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
बाढीका कारण विस्थापित विद्यालयले अस्थायी स्थानबाट पठनपाठन सञ्चालन गरिरहेको अवस्थामा प्राप्त शैक्षिक सामग्रीले विद्यार्थी तथा शिक्षकलाई दैनिक शैक्षिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
Comments