Skip to content

हातेमालो सहकारीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

Screenshot_20261010_214412_Gallery
प्रकाशित:
शब्दको आकार

चन्द्रनिगाहपुर, २४ असोज / हातेमालो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चन्द्रपुर–४ रौतहटको १६औँ वार्षिक साधारण सभा चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा सम्पन्न सभामा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य ऋषभ प्याकुरेल र तारा बहादुर बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यस्तै, नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्की तथा सञ्चारकर्मी बाल बिक्रम कार्की लगायतको आतिथ्यता रहेको थियो। सभामा संस्थाका अध्यक्ष दीपक घिमिरेले वार्षिक प्रगति तथा आगामी योजनासम्बन्धी अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। लेखा समिति संयोजक वीरबहादुर राना मगरले लेखा प्रतिवेदन तथा शिक्षा उपसमिति संयोजक सुशीला चौहानले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

संस्थाले प्रस्तुत गरेको आय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आम्दानी ३९ लाख ५८ हजार ९२२ रुपैयाँ ८६ पैसा रहेको छ। सो अवधिमा संस्थाको कुल खर्च ३४ लाख ७३ हजार २९५ रुपैयाँ २७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ। खर्च कटाएर करअघिको नाफा ४ लाख ८५ हजार ६२७ रुपैयाँ ५९ पैसा रहेकोमा कर तथा अन्य समायोजनपछि संस्थाको खुद नाफा ४ लाख २३ हजार ४१५ रुपैयाँ ६८ पैसा रहेको विवरणमा उल्लेख छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले संस्थाले सदस्यहरूको बचत सुरक्षित राख्दै उनीहरूको आर्थिक आवश्यकता पूरा गर्ने गरी सहकारीका गतिविधिलाई अघि बढाउँदै आएको बताउनुभयो। उहाँले आगामी दिनमा संस्थाको सेवा विस्तारसँगै सदस्यको हित र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि विभु पोखरेलले सहकारी संस्थाहरूले सदस्यको आर्थिक उन्नतिसँगै पारदर्शिता, वित्तीय अनुशासन र सुशासनलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले सदस्यको विश्वास नै सहकारीको मुख्य आधार भएकाले त्यसलाई कायम राख्दै जिम्मेवार ढंगले संस्थाको कारोबार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, सञ्चारकर्मी बाल बिक्रम कार्कीले स्थानीयस्तरमा रहेका सहकारी संस्थाहरूले आर्थिक कारोबारसँगै समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत योगदान पुर्‍याउनुपर्ने बताउनुभयो। उहाँले सहकारीका गतिविधि, आर्थिक अवस्था र सेवाबारे सदस्य तथा समुदायलाई नियमित रूपमा जानकारी गराउँदै पारदर्शिता कायम गर्नुपर्ने धारणा राख्नुभयो।

सभाका अवसरमा उत्कृष्ट बचतकर्ता तथा बाल बचतकर्तालाई समेत सम्मान गरिएको थियो। ज्येष्ठ नागरिक बचतकर्तातर्फ अनन्तराज ढकाल र टिकामाया बस्नेत, उत्कृष्ट बाल बचतकर्तातर्फ अमिसा मिझार र निर्विक गुरुङ तथा असल बचतकर्तातर्फ अनिता कुमारी साहलाई प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको संस्थाका उपाध्यक्ष गीतादेवी अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष नरेश लामिछानेले गर्नुभएको थियो। सभाले संस्थाको आर्थिक तथा वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सदस्यकेन्द्रित सेवा तथा संस्थाको दिगो विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 54 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts