अभिमनु पटेल
रौतहट, २२ असोज / रौतहटको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमाथिको बानेश्वरनाथ झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सर्वसाधारणको आवागमन जोखिमपूर्ण बनेको भन्दै तत्काल मर्मतसम्भार गर्न स्थानीयले माग गरेका छन्।गौरस्थित महादेव मन्दिरबाट केही मिटर पश्चिमतर्फ रहेको यो झोलुङ्गे पुल मधेश प्रदेशकै लामो झोलुङ्गे पुलमध्ये एकका रूपमा परिचित छ। पुल सञ्चालनमा आएपछि दैनिक ठूलो संख्यामा पैदल यात्रु, साइकल तथा मोटरसाइकलबाट आवतजावत गर्ने गरेका छन्।तर पछिल्लो समय पुलमा प्रयोग गरिएका फलामे जाली, नट–बोल्ट तथा मुख्य भार थेग्ने फलामे तारहरू कमजोर तथा खुल्दै गएको स्थानीयको गुनासो छ।

पुलका विभिन्न स्थानमा फलामे तारहरू नट–बोल्टबाट छुट्टिएर झुन्डिएको र कतिपय भागमा संरचना ढिलो भएको देखिने स्थानीयको भनाइ छ।स्थानीयका अनुसार पुलको दुवैतर्फ भार थेग्ने मुख्य फलामे तारसमेत विभिन्न स्थानमा खुल्ने तथा ढिलो हुने समस्या देखिएको छ। समयमै प्राविधिक परीक्षण गरी आवश्यक मर्मत नगरिए भविष्यमा ठूलो दुर्घटनाको जोखिम हुन सक्ने उनीहरूको चिन्ता छ।विशेषगरी दैनिक हजारौँ मानिसको आवागमन हुने तथा पछिल्लो समय पर्यटकीय गतिविधिसमेत बढ्दै गएको अवस्थामा पुलको संरचनाको नियमित निरीक्षण र मर्मत आवश्यक रहेको स्थानीय बताउँछन्।

बानेश्वरनाथ झोलुङ्गे पुल २०८० वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट उद्घाटन भएको थियो। पुल निर्माणपछि गौर र ईशनाथ क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम गौरसम्मको आवागमनमा सहजता भएको छ।गौर–ईशनाथ जोड्ने टिकुलियाघाटस्थित पक्की पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा पनि झोलुङ्गे पुल स्थानीयका लागि महत्वपूर्ण आवागमनको माध्यम बनेको छ। दैनिक सयौँ साइकल तथा मोटरसाइकल र ठूलो संख्यामा पैदल यात्रु यही पुलबाट आवतजावत गर्ने गरेका छन्।पुल अहिले गौरको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यसमेत बनेको स्थानीयको भनाइ छ।

पुलमा फोटो तथा भिडियो खिच्न आउने युवादेखि सर्वसाधारणसम्मको चहलपहल बढेको छ। पुल आसपास विभिन्न प्रकारका पसल तथा व्यवसाय सञ्चालनमा आउँदा स्थानीय युवाले रोजगारी र आम्दानीको अवसरसमेत पाएका छन्।तर पुलको नियमित मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। “पुल मर्मतका लागि आउने बजेट तथा खर्चको अवस्था के छ? नियमित मर्मतसम्भारको जिम्मेवारी कसको हो?” भन्ने प्रश्नसमेत उठेको छ। स्थानीयले मर्मतसम्भारमा खर्च हुने बजेटको पारदर्शिता सार्वजनिक गर्न र पुलको प्राविधिक परीक्षण गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।स्थानीयको माग छ सम्भावित दुर्घटना भएपछि मात्रै मर्मत गर्ने प्रवृत्ति अन्त्य गरी तत्काल प्राविधिक टोली खटाएर पुलको सम्पूर्ण संरचनाको निरीक्षण गरियोस्।

कमजोर भएका जाली, नट–बोल्ट तथा फलामे तार तत्काल मर्मत गरी पुललाई सुरक्षित बनाइयोस्।दैनिक हजारौँ नागरिकको आवागमन हुने र गौरको पर्यटकीय पहिचानसँग समेत जोडिएको बानेश्वरनाथ झोलुङ्गे पुलको सुरक्षा व्यवस्थापनमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ।
Comments