Skip to content

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आजदेखि रिले अनसन र धर्ना

FB_IMG_1789003293290
प्रकाशित:
शब्दको आकार

रौतहट। रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन माग गर्दै स्थानीय बासिन्दा पुनः आन्दोलनमा उत्रिएका छन्।

नेपाल सिमाना संघर्ष समिति, रामपुर खापको अगुवाइमा आज बिहीबार दिउँसो ३ बजेदेखि धर्ना प्रदर्शन तथा रिले अनसन सुरु गर्ने घोषणा गरिएको हो।रामपुर खाप तथा आसपासका सीमावर्ती क्षेत्रका बासिन्दाले छोटी भन्सार नाका पुनः सञ्चालन गर्न माग गर्दै विगत केही वर्षदेखि विभिन्न चरणमा दबाबमूलक आन्दोलन गर्दै आएका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय गौर र जिल्ला भन्सार कार्यालय गौरमार्फत सम्बन्धित मन्त्रालय तथा विभागमा पटक–पटक ज्ञापनपत्र बुझाए पनि नाका सञ्चालनका विषयमा ठोस पहल नभएको संघर्ष समितिको भनाइ छ।

स्थानीय मोहम्मद तजमुल हकले छोटी भन्सार नाका बन्द हुँदा सीमावर्ती क्षेत्रका सर्वसाधारणले दैनिक रूपमा विभिन्न समस्या झेल्नुपरेको बताउनुभयो। उहाँले स्थानीयको आवतजावत, पारिवारिक सम्बन्ध तथा अत्यावश्यक कामसँग प्रत्यक्ष जोडिएको नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।

त्यस्तै, स्थानीय साहेब साहले सीमावर्ती बासिन्दाको समस्या पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो। नाका सञ्चालनका लागि आफूहरूले शान्तिपूर्ण रूपमा दबाब दिँदै आए पनि माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने उहाँको भनाइ छ।

स्थानीय अरसद आलमले रामपुर खाप तथा आसपासका अधिकांश परिवारको भारततर्फ वैवाहिक तथा पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै नाका बन्द हुँदा सामान्य आवतजावतदेखि बिरामीलाई उपचारका लागि भारत लैजानसमेत समस्या हुने बताउनुभयो। स्थानीयको सहज आवतजावत र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँले बताउनुभयो।सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि भारततर्फका अस्पतालमा उपचार गराउन जानुपर्ने अवस्था पनि रहेको स्थानीयको भनाइ छ। तर, छोटी भन्सार नाका बन्द हुँदा सर्वसाधारण तथा सवारीसाधनको सहज आवतजावतमा अवरोध भएको उनीहरूको गुनासो छ।

राज्यका सम्बन्धित निकायले लामो समयदेखि उठाउँदै आएको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै संघर्ष समितिले यसपटक माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। समितिले भोलिदेखि धर्ना र रिले अनसन सुरु गरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनका लागि सरकारमाथि दबाब बढाउने जनाएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 39 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts