रौतहट,१७ भदौ / भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति माध्यमिक विद्यालयले ३ लाख ४८ हजार ५ सय ४६ रुपैयाँ सहयोग गरेको छ। विद्यालयले शिक्षक, विद्यार्थी तथा विद्यालयको तर्फबाट संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले आर्थिक सहयोग संकलन गरेको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक बसन्त सापकोटाका अनुसार विद्यार्थीहरूबाट संकलित ३१ हजार ६ सय ८० रुपैयाँ र विद्यालयको तर्फबाट २० हजार रुपैयाँ गरी ५१ हजार ६ सय ८० रुपैयाँ बुधबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ। त्यसैगरी, विद्यालयमा कार्यरत शिक्षकहरूको तलबबाट २ लाख ९६ हजार ८ सय ६६ रुपैयाँ कट्टा गरी कोषमा जम्मा हुने व्यवस्था गरिएको प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो। शिक्षकहरूको तलबबाट कट्टा हुने रकमसमेत जोड्दा विद्यालयको कुल सहयोग रकम ३ लाख ४८ हजार ५ सय ४६ रुपैयाँ पुगेको हो।
बाढी तथा पहिरोका कारण देशका विभिन्न क्षेत्रमा नागरिकहरू प्रभावित भइरहेका बेला विद्यालयले आफ्ना शिक्षक र विद्यार्थीलाई समेत मानवीय सहयोगको अभियानमा सहभागी गराएको हो। सहयोग संकलनमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले विपद्को समयमा आफ्ना देशका नागरिकको पीडामा साथ दिनु सबैको दायित्व भएको बताउनुभयो। पीडित परिवारलाई आफूहरू पनि साथमा रहेको अनुभूति दिलाउन विद्यालयले आफ्नो क्षमताअनुसार सहयोग गरेको उहाँको भनाइ छ।“दुःखमा परेका आफ्ना देशका नागरिकहरूलाई ‘तपाईंहरूको दुःखमा हामी पनि साथमा छौँ’ भन्ने सन्देश दिनका लागि आफूहरूले सकेको सहयोग गरेका हौँ,” अध्यक्ष लामिछानेले भन्नुभयो।
विद्यालयको सहयोग अभियानमा विद्यार्थीहरूले समेत उत्साहजनक सहभागिता जनाएका छन्। कक्षा १० मा अध्ययनरत सूचित्रा कुशवाले आफूहरूले खाजा तथा पकेट खर्चबाट केही रकम बचाएर बाढीपीडितका लागि सहयोग गरेको बताउनुभयो। उहाँका अनुसार आफूहरूको सहयोग रकम ठूलो नभए पनि विपद्मा परेका परिवारको दुःखमा थोरै भए पनि मलम लगाउन सकिन्छ भन्ने भावनाले विद्यार्थीहरू सहयोग अभियानमा सहभागी भएका हुन्।
जनज्योति माध्यमिक विद्यालयले आर्थिक सहयोगमार्फत बाढीपीडितको राहतमा योगदान गर्दै विद्यालय तहबाटै मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको संस्कार विकास गर्ने सन्देश समेत दिएको विद्यालयका शिक्षक पञ्चरत्न शाक्यले बताउनुभयो । विद्यालयका शिक्षक, विद्यार्थी र व्यवस्थापनको संयुक्त पहलबाट संकलित रकमले विपद्मा परेका परिवारको राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।
Comments