रौतहट ७ फागुन/ सोसल मिडियामा यतिबेला सबैभन्दा बढी चर्चा कमाइरहेका पात्रमध्ये एक हुन् पत्रकारबाट राजनीतिमा प्रवेश गरेका ऋषि धमला। ऋषि धमला हाल आम जनता पार्टीका तर्फबाट रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।
धमलाको चुनावी शैली नै उनलाई सामाजिक सञ्जालमा भाइरल बनाउने प्रमुख कारण बनेको छ। भीडभाड देखिने जुनसुकै स्थानमा पनि पुगेर मत माग्ने उनको तरिका यतिबेला चर्चा र चासोको विषय बनेको छ। बिहीबार चन्द्रनिगाहपुरमा एक परिवारमा आयोजना गरिएको व्रतबन्ध कार्यक्रममा उनी अकस्मात् उपस्थित भएका थिए। धार्मिक समारोहमा भेला भएका आफन्त, छिमेकी र आगन्तुकहरूसँग उनले खुलेर आफ्नो पक्षमा मत मागेका थिए।
चुनावी मञ्च, विवाह–मेला, घरदैलो कार्यक्रम वा भीडभाड हुने सार्वजनिक स्थल—जहाँ मानिसहरूको उपस्थिति देखिन्छ, त्यहाँ तुरुन्तै जनसम्पर्कमा जुट्ने उनको शैलीले धेरैको ध्यान खिचेको छ। कतिपयले यसलाई सक्रियता र जनसम्पर्कको नयाँ ढंगका रूपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई रोचक र मनोरञ्जनात्मक शैलीका रूपमा लिएका छन्।
धमलाले चुनाव जित्ने वा नजित्ने विषयमा आ–आफ्ना अड्कलबाजी भइरहे पनि सामाजिक सञ्जालमा उनले सिर्जना गरेको ‘अनपेक्षित उपस्थिति’ भने व्यापक चर्चा र मनोरञ्जनको विषय बनेको छ। उनी भोट माग्दै विभिन्न कार्यक्रममा पुगेका भिडियोहरू, प्रतिक्रिया, मेम र टिकटक क्लिपहरू तीव्र रूपमा भाइरल भइरहेका छन्।
स्थानीय बासिन्दाले समेत भन्न थालेका छन् कि धमलाको चुनावी अभियानभन्दा बढी उनको उपस्थित हुने शैली र ‘सप्राइज’ भेटघाट नै आकर्षणको केन्द्र बनेको छ। यही कारण उनको गतिविधि निरन्तर सामाजिक सञ्जाल र सार्वजनिक बहसमा रहँदै आएको छ।
Comments