रौतहट , ३ जेठ / जेठ ३ गते जननेता मदन भण्डारी र नेता जीवराज आश्रित को रहस्यमय दुर्घटनापछि निधन भएको दिनको स्मरणमा रौतहटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।मदन–आश्रितको ३३ औँ स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन रौतहट ले जिल्लाको मध्यभाग गरुडास्थित नेकपा एमालेको पार्टी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको फाउन्डेसनले जनाएको छ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा मदन–आश्रितको योगदानको स्मरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका जिल्ला सचिव देवराज न्यौपानेले बताउनुभयो।
कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रत्याशी रामजी शाह, फाउन्डेसनका जिल्ला इन्चार्ज अमर आले, जिल्ला अध्यक्ष मनिलाल सहनी, जिल्ला सचिव देवराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक राजनीतिक यात्रामा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो। उहाँहरुले मदन-आश्रितको विचार, राजनीतिक योगदान तथा जनताप्रतिको समर्पण अहिले पनि सान्दर्भिक रहेको भन्दै नेपालको कम्युनिष्ट आन्दोलनमा सदैव सम्मानित नेता रहेको विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ४ का प्रत्याशी रामजी शाहले मदन–आश्रितले अघि सारेका विचार र सिद्धान्तलाई व्यवहारमा उतार्नु नै सच्चा सम्मान हुने भन्दै वातावरण संरक्षणका लागि वृक्षारोपण जस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो।
त्यसैगरी फाउन्डेसनका जिल्ला अध्यक्ष मनिलाल सहनीले मदन–आश्रितको स्मृतिमा हरेक वर्ष रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिँदै वृक्षारोपणले वातावरण संरक्षणसँगै नयाँ पुस्तालाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
Comments