रौतहट ७ फागुन/ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार रामजी शाहले रौतहट क्षेत्र नम्बर ४ मा चुनावी अभियानलाई तीव्र बनाएका छन्। अभियानअन्तर्गत उनले बिहीबार चन्द्रपुर नगरपालिका–७ मा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै शाहले आफूले युवा रोजगारी सिर्जना, कृषकका समस्या समाधान, सीपमूलक तालिम विस्तार तथा गाउँ–शहरमा उद्योग स्थापना जस्ता विषयलाई प्राथमिकतामा राखेको बताए। अधिकांश मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले चुनावी माहोल आफ्नो पक्षमा बन्दै गएको दाबी गरे।
शाहले रौतहट–४ का दीर्घकालीन समस्या समाधानमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारे। कृषि पूर्वाधार विकास, सिंचाइ सुविधा विस्तार, स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धन र युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने योजना आफूले अघि सारेको उनको भनाइ छ। विगतका सरकारहरूले क्षेत्रलाई अपेक्षित प्राथमिकता नदिएको गुनासो मतदाताबाट आएको उल्लेख गर्दै उनले यसपटक परिवर्तनको पक्षमा जनमत आउने विश्वास व्यक्त गरे।
अभियानका क्रममा उनले पवन बुहारी नयाँ बस्ती लगायत विभिन्न टोलमा पुगेर स्थानीयको गुनासा र सुझाव संकलन गरेका थिए। विकासका काम दीर्घकालीन र योजनाबद्ध ढंगले अघि बढाइने आश्वासन उनले मतदातालाई दिएका छन्।
चन्द्रपुर क्षेत्रमा चुनावी गतिविधि बढ्दै जाँदा मतदाताको चासो र सहभागिता पनि तीव्र बनेको देखिन्छ। शाहको सक्रिय प्रचार–प्रसारले रौतहट–४ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको आकलन गरिएको छ। अब फागुन २१ गते हुने निर्वाचनमा मतदाताले कस्तो जनमत दिन्छन् भन्ने विषयले स्थानीय राजनीतिक वृत्तमा विशेष चासो सिर्जना गरेको छ।
Comments