Skip to content

रौतहट–४ मा देवप्रसाद तिमल्सिनाको घरदैलो तीव्र, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

devi
प्रकाशित:
शब्दको आकार

रौतहट, फागुन ५ ।  रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवप्रसाद तिमल्सिनाले चुनावी गतिविधि तीव्र बनाएका छन्। लगातार दुई कार्यकालसम्म क्षेत्रको प्रतिनिधित्व गरिसकेका तिमल्सिना चन्द्रपुर नगरपालिका–५ मा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुँदै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलोका क्रममा उनले विगतमा सुरु भएका विकास आयोजनालाई निरन्तरता दिन आफूलाई पुनः अवसर दिन आग्रह गरे। अधुरा योजनाहरू पूरा गर्नु अहिलेको प्रमुख प्राथमिकता रहेको बताउँदै उनले दीर्घकालीन योजना र स्थायी संरचनामार्फत क्षेत्रको समग्र विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार सडक पूर्वाधार विस्तार तथा मर्मत, दुर्गम बस्तीमा सहज यातायात पहुँच, वर्षैभरि उपयोग गर्न सकिने सिंचाइ संरचना निर्माण, कृषि उत्पादन वृद्धि, स्वास्थ्य तथा शिक्षा सेवामा सुधार र युवा रोजगारीका कार्यक्रम प्रमुख एजेन्डामा छन्। सिंचाइ अभावले कृषि क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले आधुनिक प्रविधि, मल–बिउको पहुँच र कृषि बजार विस्तारमा जोड दिने बताए।

स्वास्थ्य क्षेत्रमा अत्यावश्यक सेवा विस्तार, स्वास्थ्य चौकी तथा अस्पताल स्तरोन्नति, विद्यालय पूर्वाधार सुधार, प्राविधिक शिक्षाको पहुँच वृद्धि र छात्रवृत्ति कार्यक्रम सुदृढीकरण गर्ने योजना पनि उनले सार्वजनिक गरे। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग, उद्यम र सहकारी प्रवर्द्धन गरिने उनको भनाइ छ। साथै, वातावरण संरक्षण तथा बाढी–डुबान नियन्त्रणका दीर्घकालीन उपाय अवलम्बन गरिने उनले बताए।

मतदातासँग संवाद गर्दै तिमल्सिनाले सुरु भएका विकास कार्य सम्पन्न गर्न जनसमर्थन आवश्यक रहेको उल्लेख गरे। स्थानीय बासिन्दाले भने दीगो, पारदर्शी र जवाफदेही विकासमा आगामी प्रतिनिधिले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts