रौतहट, फागुन ५ । रौतहट क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले चुनावी अभियान तीव्र पारेका छन्। यसपटक जसरी पनि जित हासिल गर्ने दाबीका साथ उनी घरदैलो र भेटघाट कार्यक्रममार्फत मतदातासम्म पुगिरहेका छन्।
सोही क्षेत्रमा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अनिल कुमार झा पनि प्रतिस्पर्धामा छन्। गौर नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका गुप्ताका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ। अघिल्लो निर्वाचनमा उनी माधवकुमार नेपालसँग पराजित भएका थिए।
गुप्ताले यसपटक विगतको नतिजा उल्ट्याउने दृढ संकल्प व्यक्त गरेका छन्। “पार्टीका कार्यकर्ता मात्र होइन, आम सर्वसाधारणसँगको भेटघाटलाई पनि तीव्र बनाएको छु। जनताको घरदैलोमै पुगेर समस्या र अपेक्षा बुझ्दै छु,” उनले बताए। आफ्नो जित सुनिश्चित गर्न क्षेत्रका मतदाताको समर्थन आफ्नो पक्षमा रहेको दाबी पनि उनले गरे।
प्रजातन्त्र स्थापनापछि रौतहट–१ लाई लामो समयदेखि माधवकुमार नेपालको प्रभाव क्षेत्रका रूपमा लिइँदै आएको छ। उनी सो क्षेत्रबाट एकपटक मात्र पराजित भएका छन् भने अन्य अधिकांश निर्वाचनमा विजयी हुँदै आएका छन्। यस कारण पनि यो क्षेत्र राजनीतिक रूपमा चासोको केन्द्रमा रहँदै आएको छ।
तर यसपटकको माहोल फरक रहेको गुप्ताको भनाइ छ। “जनतामा परिवर्तनको चाहना छ। विकास, रोजगारी र सुशासनका मुद्दामा जनता सचेत भएका छन्,” उनले दाबी गरे।
नेकपा एमालेसँगै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी गतिविधि तीव्र पारेकाले बहुपक्षीय प्रतिस्पर्धा चर्किएको छ। चुनाव नजिकिँदै जाँदा रौतहट–१ मा कसले बाजी मार्ने हो भन्ने विषयले राजनीतिक वृत्तमा उत्सुकता बढाएको छ।
Comments