Skip to content

अनसनरत रामपुर खापवासीको गुनासो, ‘बेटी–रोटी’को सम्बन्ध भाषणमा मात्रै सीमित

IMG-20260910-WA0008
प्रकाशित:
शब्दको आकार

रौतहट, २५ भाद्र/ रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयबासीले बिहीबारदेखि रिले अनसन तथा धर्ना सुरु गरेका छन्।

नेपाल सिमाना संघर्ष समिति, रामपुर खापको अगुवाइमा पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार दिउँसो ४ बजेदेखि सीमा क्षेत्रमा रिले अनसन सुरु गरिएको हो। आन्दोलनको पहिलो दिन संघर्ष समितिका अध्यक्ष एवं पूर्वशिक्षक मो. ताजामुल हक, पूर्व गाविस उपप्रधान जगतलाल यादव तथा नेपाल जनता पार्टीका सांसद प्रत्यासी साहेब साह कानु लगायतको नेतृत्वमा अनसन कार्यक्रम सुरु गरिएको छ।

कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष मो. ताजामुल हकले रामपुर खापको छोटी भन्सार नाका स्थानीयबासीको सहज आवतजावत, व्यापार तथा पारिवारिक सम्बन्धसँग प्रत्यक्ष जोडिएको बताउनुभयो। उहाँले वर्षौंदेखि नाका सञ्चालनको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आए पनि सम्बन्धित निकायबाट आश्वासनबाहेक ठोस पहल हुन नसकेको गुनासो गर्नुभयो।

त्यस्तै, पूर्व गाविस उपप्रधान जगतलाल यादवले सीमाबासीको दैनिक जीवनसँग जोडिएको नाका लामो समयदेखि बन्द हुँदा स्थानीयले अनावश्यक दुःख पाउनुपरेको बताउनुभयो। उहाँले पटक–पटक आन्दोलन र धर्ना गर्दा राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरूले नाका सञ्चालन गराउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन नसकेको बताउँदै अब आश्वासनभन्दा व्यवहारिक कदम आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाल जनता पार्टीका सांसद प्रत्यासी साहेब साह कानुले रामपुर खाप नाका सञ्चालन नहुँदा सीमावर्ती क्षेत्रका नागरिकको आवतजावत र आर्थिक गतिविधि प्रभावित भएको बताउनुभयो। उहाँले सीमाबासीको समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिनुभयो।

आन्दोलनकारीका अनुसार रामपुर खाप छोटी भन्सार नाका गौर र बंकुल भन्सारको बीचमा अवस्थित छ। भारतीय बजार नजिकै रहेकाले यस क्षेत्रका नागरिकको दैनिक आवश्यकता, व्यापारिक गतिविधि तथा पारिवारिक सम्बन्धसमेत यही नाकासँग जोडिएको छ।स्थानीयबासीले भारतसँग पुस्तौँदेखि कायम रहेको ‘बेटी–रोटी’को सम्बन्ध नाका बन्द भएपछि व्यवहारमा कमजोर हुँदै राजनीतिक भाषण र भनाइमा मात्र सीमित भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार सीमावर्ती नागरिकबीचको वैवाहिक तथा पारिवारिक सम्बन्धका कारण सहज आवतजावत आवश्यक भए पनि नाका बन्द हुँदा सामान्य कामका लागि समेत लामो दूरी घुमेर जानुपर्ने बाध्यता छ।

संघर्ष समितिले केही स्वार्थी सरोकारवाला तत्वको मिलेमतोमा सीमा नाका बन्द गराई अवैध कारोबार तथा तस्करीलाई प्रश्रय दिने काम भइरहेको गम्भीर आरोपसमेत लगाएको छ। सर्वसाधारणलाई दुःख दिएर अवैध कारोबारलाई बढावा दिने प्रवृत्ति अन्त्य गरी तत्काल छोटी भन्सार सञ्चालन गर्न समितिले माग गरेको छ।रामपुर खाप छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा नल्याएसम्म रिले अनसन तथा धर्नासहितको आन्दोलनलाई निरन्तरता दिने संघर्ष समितिले चेतावनी दिएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 39 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts