रौतहट, २५ भाद्र। विपद्का बेला भारतको पश्चिम बंगालबाट पीडितका लागि राहत सामग्री लिएर आएका दुईवटा पिकअप गाडी गौर भन्सार नाकामा रोकिएपछि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सरकारी कार्यशैलीप्रति प्रश्न उठाउनुभएको छ।नगर प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै विपत्तिमा सहयोग गर्न आएका छिमेकी मुलुकका नागरिकलाई प्रशासनिक झन्झट दिएर राहत सामग्री सीमामै रोकिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो।
साहका अनुसार पश्चिम बंगाल निवासी हरिश्चन्द्र साहुको नेतृत्वमा ६ जनाको टोलीले आफ्नै खर्चमा राहत सामग्री संकलन गरी रौतहट ल्याएको थियो। दुईवटा पिकअप भ्यानमा चामल, चिउरा, भुजा, बिस्कुट, नुन तथा लत्ताकपडालगायतका सामग्री ल्याइएको र ती सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरी विपद् प्रभावित नागरिकसम्म पुर्याउने उनीहरूको उद्देश्य रहेको साहले उल्लेख गर्नुभएको छ।तर, गौर सीमा नाकामा राहत सामग्री बोकेका गाडीहरू रोकिँदा मानवीय सहयोगमा समेत सरकारी प्रक्रियाको अवरोध देखिएको नगर प्रमुख साहको भनाइ छ।
उहाँले खाद्यान्न सामग्री क्वारेन्टिन जाँचको सुविधा नभएको कारण देखाउँदै भन्सारमै रोकिएको र लत्ताकपडामा समेत भन्सार प्रक्रिया तथा महसुलको विषय उठाइएको बताउनुभएको छ।नगर प्रमुख साहले प्रमुख जिल्ला अधिकारी तथा भन्सार प्रमुखसँग प्रत्यक्ष समन्वय गर्दा समेत आवश्यक नीतिगत सहजीकरण हुन नसकेको दाबी गर्नुभएको छ। उहाँका अनुसार राहत सामग्री बोकेका दुवै गाडी घाम–पानीमा सीमामै अलपत्र अवस्थामा रहेका छन्।सामाजिक सञ्जालमा साहले विपत्तिले देश, सीमा र कानुनी धारासमेत नचिन्ने उल्लेख गर्दै यस्तो अवस्थामा मानव पीडालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। पराई भूमिबाट नेपाली नागरिकलाई आफ्नै सम्झेर सहयोग गर्न आएका व्यक्तिहरूलाई राज्यले सहज रूपमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।
“निःस्वार्थ भावले आएको राहतलाई राज्यले सम्मानका साथ स्वागत गर्न सक्दैन र उल्टै प्रशासनिक सास्ती दिन्छ भने, भोलि संकट पर्दा कसले हात अघि बढाउला?” भन्ने प्रश्न नगर प्रमुख साहले आफ्नो स्टाटसमार्फत गर्नुभएको छ।उहाँले सहयोगकर्ताको मनोबल कमजोर हुन नदिन र विपद् प्रभावित तथा घरबारविहीन नागरिकसम्म राहत समयमै पुर्याउन सम्बन्धित निकायले तत्काल प्रक्रियागत समस्या समाधान गरी राहत बोकेका गाडीलाई सम्मानपूर्वक नेपाल प्रवेश गराउने वातावरण बनाउन आग्रह गर्नुभएको छ।नगर प्रमुख साहको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै विपद्का बेला आउने मानवीय सहायता तथा त्यसको भन्सार र प्रशासनिक सहजीकरणको विषयमा समेत बहस सुरु भएको छ।
Comments