रौतहट, २६ भाद्र / भदौ १० गते भोटेकोशी, रसुवा, धादिङ, नुवाकोट लगायतका क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारका लागि श्री कृष्ण प्रणामी समाज रौतहटले राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाएको छ।
श्री कृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला समिति रौतहट, श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति रौतहट, श्री कृष्ण प्रणामी बाइजुराज समिति नेपाल जिल्ला शाखा रौतहट तथा श्री कृष्ण प्रणामी धार्मिक वन चन्द्रपुरको संयुक्त नेतृत्वमा चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकामा रहेका कृष्ण प्रणामी समाज तथा विभिन्न सेवाभावी व्यक्तिहरूबाट राहत सामग्री संकलन गरिएको हो। संकलन गरिएको राहतमा चामल, नुन, तेल, भाँडाकुँडालगायतका सामग्री रहेका छन्।
जिल्ला सेवा समिति रौतहटका अध्यक्ष शिवप्रसाद आचार्यका अनुसार संकलित राहत सामग्रीसहितको टोली शुक्रबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो। कृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय उपाध्यक्ष अनिल कोइरालाका अनुसार प्रभावित क्षेत्रमा १३ टन खाद्यान्न, करिब २ सय परिवारका लागि भाँडाकुँडा तथा अनाथ बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरिनेछ। भाँडाकुँडा खरिदका लागि अञ्जन ढोडारीले ५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ भने रामकुमार कटवालले इन्धन र सृजन तिमल्सिनाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको कोइरालाले जानकारी दिनुभयो।
त्यसैगरी, श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल जिल्ला समिति रौतहटका अध्यक्ष कोपिला तिमल्सिनाले देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला कृष्ण प्रणामी समाजले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले विपद्का बेला प्रभावित नागरिकको सहयोगका लागि समाजले सक्दो सहयोग र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राहत सामग्री प्रभावित क्षेत्रमा वितरणका लागि श्री कृष्ण प्रणामी सेवा समिति जिल्ला उपाध्यक्ष रामकुमार दाहाल र युवा परिषद् जिल्ला प्रतिनिधि उद्धव घिमिरेको नेतृत्वमा टोली प्रस्थान गरेको जनाइएको छ।
काठमाडौंमा रहेको श्री कृष्ण प्रणामी समाजको केन्द्रीय समितिसँग समेत समन्वय गरी प्रभावित क्षेत्रमा राहत वितरण गरिने श्री कृष्ण प्रणामी युवा परिषद् जिल्ला अध्यक्ष विमल सापकोटाले जानकारी दिनुभयो।समाजले बाढीबाट प्रभावित तथा विस्थापित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न खाद्यान्न तथा आवश्यक सामग्री वितरणका साथै बालबालिकाको शिक्षामा समेत सहयोग गर्ने जनाएको छ।
Comments