रौतहट, २३ असार/ रौतहटको चन्द्रपुर नगरपालिका–२ नयाँटोलका ३६ वर्षीय रमेश थापा विगत चार वर्षदेखि आफ्नै घरबाहिर साङ्लोमा बाँधिएर जीवन बिताउन बाध्य छन्। मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएपछि परिवारले हेरचाह गर्न नसक्दा उनलाई बाँधेर राख्नुपरेको हो। उपचारको अभाव र आर्थिक विपन्नताले एउटा नागरिकको जीवन कति पीडादायी बन्न सक्छ भन्ने यो घटना एउटा मार्मिक उदाहरण बनेको छ।
परिवारका अनुसार केही वर्षअघिसम्म ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने रमेशलाई सानैदेखि छारे रोगको समस्या थियो। पछिल्ला चार–पाँच वर्षयता उनको मानसिक अवस्था झन् बिग्रँदै गएपछि उनी गाउँघरमा पुगेर मानिससँग दुर्व्यवहार गर्ने, कुटपिट गर्ने तथा घरबाट भाग्ने गर्न थाले। आमा पार्वती थापाका अनुसार घरका सदस्यहरू दैनिक मजदुरी गर्न जानुपर्ने र घरमा उनलाई निगरानी गर्ने कोही नहुँदा बाध्य भएर साङ्लोले बाँध्नुपरेको हो।
रमेशको परिवार यसअघि बाराको निजगढ नगरपालिका–६ मा बस्दै आएको थियो। पारिवारिक सम्पत्ति गुमेपछि उनीहरू रौतहटको चन्द्रपुर–२ मा बसाइँ सरेका हुन्। हाल स्थानीय कमला ढकालले उपलब्ध गराएको जग्गामा बनेको सानो घरमा रमेश आफ्ना बुवा, आमा र भाइसँग बस्दै आएका छन्।
करिब एक वर्षअघि रमेशलाई मानव सेवा आश्रम, हरिवनमा राखिएको थियो। तर त्यहाँ पनि उनले आक्रामक व्यवहार देखाउँदै अन्य व्यक्तिमाथि आक्रमण गर्न थालेपछि घर फर्काउनुपरेको आश्रमका मधेस प्रदेश इन्चार्ज विवेक महत्तो बताउँछन्। उनका अनुसार रमेशलाई केही समय विशेष सुधार गृह वा विशेषज्ञ अस्पतालमा नियमित उपचार गर्न सके अवस्थामा सुधार आउने सम्भावना छ।रमेशका बुवा गणेशबहादुर थापा भने आर्थिक अभावका कारण छोराको उपचार गराउन असमर्थ रहेको बताउँछन्। उनले सहयोगी संस्था, दाताहरू र सम्बन्धित निकायसँग उपचारका लागि सहयोगको अपिल गरेका छन्।
घटनाको जानकारी पाएपछि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र रोजगार शाखाका प्रतिनिधि रमेशको घरमै पुगेर अवस्था अवलोकन गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत ढकालले उपचार नपाएर नागरिक साङ्लोमा बाँधिनुपर्ने अवस्था अत्यन्त दुःखद भएको भन्दै नगरपालिकाले उपचार र उद्धारका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले मानिसलाई साङ्लोमा बाँधेर राख्नु कानुनी रूपमा दण्डनीय भएकाले परिवारलाई मानवीय ढङ्गले हेरचाह गर्न आग्रह गरिन्।
स्थानीय कमला ढकालले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्य गर्न राज्यका सबै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताइन्। समयमै उपचार र आवश्यक सहयोग जुट्न सके रमेशले पनि सम्मानजनक र सामान्य जीवनमा फर्कने आशा अझै बाँकी रहेको स्थानीयको विश्वास छ।
Comments