रौतहट, २३ असार /अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को समनपुर घाटको बालुवा, गिट्टी र ग्राभेल उत्खनन तथा निकासी ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन नगरप्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गढीमाई नगरपालिकाले समनपुर नाकाको नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासीका लागि बोलपत्र आह्वान गरेको थियो।
उक्त ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले ३ करोड २५ लाख रुपैयाँ कबोल गरी प्राप्त गरेको भए पनि सम्झौता गर्नुपर्ने सर्तअनुसार तोकिएको समयभित्र सम्पूर्ण रकम दाखिला नगरेको आरोप छ। त्यसपछि पनि नियमविपरीत सम्झौता गरी कम्पनीलाई अस्थायी रूपमा उत्खनन तथा निकासीको अनुमति दिइएको आयोगको दाबी छ। अनुसन्धानबाट कम्पनीलाई एक महिनाका लागि १० हजार घनमिटर नदीजन्य पदार्थ उत्खननको अनुमति दिइएको भए पनि ५४ हजार ३५५ घनमिटर उत्खनन तथा निकासी गर्न दिइएको र त्यसबाट कम्पनीले ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ ५८ पैसा बराबरको लाभ लिएको आयोगले जनाएको छ।
आयोगका अनुसार ठेक्काबापत बुझाउनुपर्ने रकममध्ये १ करोड ९ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरिएको थियो। बाँकी २ करोड १५ लाख ३७ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि कर (भ्याट) बापत ४२ लाख २५ हजार रुपैयाँ गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ सरकारी राजस्वमा दाखिला नगरिएको पाइएको छ।
यसबाट नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई सोही बराबरको आर्थिक क्षति पुगेको आयोगको निष्कर्ष छ। यस प्रकरणमा तत्कालीन नगरप्रमुख श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र कम्पनीका तर्फबाट कार्य गर्ने राधेश्याम साहलाई प्रतिवादी बनाइएको छ।
आयोगले चारै प्रतिवादीविरुद्ध २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगो असुल, दोब्बर जरिवाना तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार थप सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक स्रोत तथा राजस्वमा हानि पुर्याउने कार्यमा संलग्न देखिएकाहरूमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।
मुद्दा दर्ता भएसँगै नगर प्रमुख यादव निलम्बनमा परेका छन्।
Comments