रौतहट , २२ असार/ रौतहटको चन्द्रपुर नगरपालिका–१ ले गर्भवती, सुत्केरी तथा विपन्न महिलाहरूको पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले एक सय महिलालाई पोषणयुक्त खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरेको छ।वडा कार्यालयले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी हुने महिलाहरूलाई प्रोत्साहनस्वरूप उक्त सामग्री उपलब्ध गराएको हो। वितरण गरिएको सामग्रीमा एक बोरा चामल, एक क्रेट अण्डा, दुई लिटर खाने तेल, दुई केजी चना तथा लुगा धुने साबुन ६ वटा रहेका छन्।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले लाभग्राही महिलाहरूलाई सामग्री हस्तान्तरण गर्दै नागरिकको स्वास्थ्य संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको बताए। उनले गर्भवती र सुत्केरी महिलाले पर्याप्त पोषण पाएमा आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख काफ्लेले भने, “गर्भवती र सुत्केरी महिलाका लागि पोषणयुक्त आहार अत्यन्त आवश्यक हुन्छ। यस्ता सामग्रीले आमा र नवजात शिशुलाई विभिन्न संक्रमण तथा स्वास्थ्य समस्याबाट जोगाउन सहयोग पुर्याउँछ। चन्द्रपुर नगरपालिकाले नागरिकको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको छ, र यस्ता कार्यक्रमलाई आगामी दिनमा अन्य वडाहरूमा पनि विस्तार गर्ने लक्ष्य लिएको छ।”
वडा नम्बर–१ का वडाध्यक्ष बलराम राउतले कुनै पनि महिला पोषणको अभावका कारण स्वास्थ्य समस्यामा पर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउने र सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी हुने संस्कृतिलाई प्रोत्साहन गर्न पोषण सामग्री वितरण गरिएको स्पष्ट पारे।“गर्भवती महिलाहरू नियमित स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा आउन् र सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी गरून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ,” वडाध्यक्ष राउतले भने, “यसले आमा र शिशुको स्वास्थ्य सुधारसँगै सुरक्षित मातृत्व अभियानलाई पनि थप प्रभावकारी बनाउने विश्वास लिएका छौँ।”
स्थानीय तहले सञ्चालन गरेको यस कार्यक्रमलाई सहभागी महिलाले स्वागत गरेका छन्। उनीहरूले पोषण सामग्रीले गर्भावस्था र सुत्केरी अवस्थाका दैनिक आवश्यकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।स्थानीय सरकारद्वारा सञ्चालन गरिएको यस्तो पहलले सुरक्षित मातृत्व, पोषण सुधार तथा आमा–शिशुको स्वास्थ्य संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
Comments