चन्द्रपुरमा बालबालिकासँग जनप्रतिनिधिको अन्तरक्रिया : बालअधिकारका सवाल सम्बोधन गर्ने प्रतिबद्धता
चन्द्रपुर, २ असार / किन्डर नट हिल्फको आर्थिक सहयोग तथा चन्द्रपुर नगरपालिका र छोरी संस्थाको संयुक्त आयोजनामा सञ्चालित “बालबालिका हाम्रो गौरव” परियोजनाअन्तर्गत चन्द्रपुर नगरपालिकामा बालबालिका र स्थानीय सरकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बालबालिकाहरूले आफ्ना समस्या, गुनासा तथा अधिकारसँग सम्बन्धित सवालहरू जनप्रतिनिधि तथा सरोकारवालासमक्ष प्रत्यक्ष रूपमा राखेका छन्।

चन्द्रपुर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरप्रमुख सञ्जयकुमार काफ्ले, उपप्रमुख जयमाला चौधरी, प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश झा, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुख तथा प्रतिनिधिहरू र विभिन्न बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालबालिकाहरूले आफूहरूले भोग्दै आएका विभिन्न समस्या र चुनौतीबारे सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए। उनीहरूले बालबालिकामाथि हुने विभेद, बालअधिकार उल्लङ्घन, बालविवाह, विद्यालयमा नियमित तथा गुणस्तरीय पठनपाठनको अभाव, बाल हिंसा, यौन हिंसा तथा बाल संरक्षणका विषयमा आफ्ना धारणा राखेका थिए।

बालबालिकाहरूले उठाएका सवालहरूको जवाफ दिँदै नगरप्रमुख सञ्जयकुमार काफ्लेले बालबालिका नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले बालबालिकाको सुरक्षित भविष्य निर्माणका लागि स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताका क्षेत्रमा निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। “बालबालिकाले आफ्ना समस्या र सुझावहरू खुलेर राख्नु सकारात्मक पक्ष हो। बालबालिकाको आवाजलाई आगामी नीति, योजना र बजेट निर्माणमा समेटेर अगाडि बढ्नेछौँ,” नगरप्रमुख काफ्लेले भन्नुभयो।
त्यस्तै, नगर उपप्रमुख जयमाला चौधरीले बालबालिकाको अधिकार संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले बालविवाह, हिंसा र विभेद जस्ता समस्याको अन्त्यका लागि परिवार, विद्यालय, समाज र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। “बालबालिकालाई केवल संरक्षण मात्र होइन, निर्णय प्रक्रियामा सहभागी गराउन पनि आवश्यक छ। उनीहरूले उठाएका सवाललाई गम्भीरतापूर्वक लिएर समाधानको पहल गरिनेछ,” उपप्रमुख चौधरीले बताउनुभयो।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी बनाउन बालबालिकाको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बालबालिकाले राखेका विषयहरूलाई सम्बन्धित शाखामार्फत सम्बोधन गर्ने र आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम निर्माण गर्दा बालबालिकाका आवश्यकतालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै छोरी संस्थाकी कार्यक्रम संयोजक कोपिलाले स्थानीय सरकारसँग बालबालिकाको प्रत्यक्ष संवाद गराउने, बालबालिकाले उठाएका सवालहरूलाई स्थानीय सरकारले सम्बोधन गर्ने तथा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेटमा बालबालिकासँग सम्बन्धित विषय समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले बाल संरक्षणका क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न परियोजना क्रियाशील रहेको जानकारी दिनुभयो।

कार्यक्रमको सहजीकरण चन्द्रपुर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले गर्नुभएको थियो। कार्यक्रममा बालबालिका र स्थानीय सरकारबीच प्रत्यक्ष संवादमार्फत समस्या पहिचान, समाधानका उपाय र आगामी सहकार्यका विषयमा छलफल गरिएको थियो।
Comments