Skip to content

बहादुरपुरका युवाहरूको सक्रियतामा सरसफाइ तथा अतिक्रमण हटाउने अभियान जारी

FB_IMG_1781447924455
प्रकाशित:
शब्दको आकार

रौतहट, ३१ जेठ / रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुरका युवाहरूले आफ्नो गाउँलाई सफा, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले थालेको सरसफाइ तथा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएका छन्। स्थानीय युवाहरू आज दोस्रो दिन पनि गाउँका विभिन्न स्थानमा सरसफाइ तथा सार्वजनिक क्षेत्रबाट अतिक्रमण हटाउने कार्यमा सक्रिय भएका हुन्।

वडा कार्यालयको सहयोग र सहभागितामा स्थानीय युवाहरूको स्वतःस्फूर्त सक्रियतामा उक्त अभियान सञ्चालन भइरहेको वडा अध्यक्ष चन्दन कुशवाहले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँको वातावरण सुधार, सार्वजनिक स्थलको संरक्षण र स्थानीय बासिन्दामा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले युवाहरू अभियानमा जुटेका हुन्।

अभियानअन्तर्गत सडक किनार, सार्वजनिक स्थान तथा लामो समयदेखि फोहोर जम्मा भएका क्षेत्रहरूको सरसफाइ गर्नुका साथै अव्यवस्थित रूपमा निर्माण गरिएका संरचना तथा अतिक्रमण हटाउने कार्य भइरहेको छ। स्थानीय युवाहरूले श्रमदानमार्फत गाउँको स्वरूप परिवर्तन गर्न सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

वडाध्यक्ष कुशवाहले युवाहरूको यस्तो सक्रियता प्रशंसनीय रहेको बताउँदै गाउँ विकासमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले वडा कार्यालयले यस्ता सामाजिक अभियानमा आवश्यक सहयोग र समन्वय गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।स्थानीय युवाहरूले पनि आफ्नो गाउँ आफैं सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएका छन्।

उनीहरूले सरसफाइ केवल एक दिनको काम नभई नियमित व्यवहार र जिम्मेवारीको विषय भएको भन्दै सबै स्थानीयवासीलाई अभियानमा जोडिन आग्रह गरेका छन्।बहादुरपुरमा युवाहरूको पहलमा सञ्चालन भइरहेको यो अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूले बताएका छन्।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 59 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts