Skip to content

सकारात्मक अनुशासन सम्बन्धी दुईदिने तालिम चन्द्रनिगाहपुरमा सम्पन्न

20260824_172832
प्रकाशित:
शब्दको आकार

चन्द्रनिगाहपुर , ८ भदौ/ छोरी संस्थाको आयोजना तथा KNH को आर्थिक सहयोगमा शिक्षक तथा बालअधिकार समितिका सदस्यहरूका लागि सञ्चालन गरिएको सकारात्मक अनुशासन तथा बालअधिकारसम्बन्धी दुईदिने तालिम चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ।बालबालिकाप्रतिको बुझाइलाई सकारात्मक बनाउँदै विद्यालय तथा समुदायमा बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले शिक्षक र बालअधिकार समितिका सदस्यहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको छोरी संस्थाले जनाएको छ। तालिममा बालअधिकार अभियन्ता हरिबोल आचार्यले सहजीकरण गर्नुभएको थियो।शिक्षकतर्फको तालिममा चन्द्रपुरका पाँचवटा विद्यालयबाट प्रधानाध्यापकसहित पाँच–पाँच जना शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो। श्रीकृष्ण माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, डुमरिया माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि तालिममा सहभागी भएका थिए। शिक्षकतर्फको तालिमको अध्यक्षता छोरी संस्थाकी कार्यकारी उपाध्यक्ष छाया देवकोटाले गर्नुभएको थियो।

तालिममा बालअधिकारको परिचयपछि बालसंरक्षण, विद्यालयमा बालसंरक्षणका मापदण्ड तथा सकारात्मक अनुशासनका विषयमा अन्तरक्रिया गरिएको थियो। प्रयोगात्मक अभ्यास, ग्यालरी वर्कलगायत विभिन्न सहभागितामूलक विधिमार्फत शिक्षकहरूलाई बालबालिकालाई दण्ड र डरको माध्यमबाट नभई सकारात्मक तथा सम्मानजनक व्यवहारमार्फत सिकाइमा जोड्ने विषयमा छलफल गराइएको थियो।

तालिमका क्रममा शिक्षकहरूले विद्यालयमा उपलब्ध आर्थिक, भौतिक तथा मानवीय स्रोतको सीमितताबीच सरकारी मापदण्डअनुसार प्रभावकारी शिक्षण कसरी गर्ने, विद्यार्थीको व्यक्तिगत क्षमता, पारिवारिक अवस्था र समुदायको परिवेश फरक हुँदा सकारात्मक शिक्षण सिकाइ कत्तिको प्रभावकारी हुन्छ भन्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए।छोरी संस्थाकी कार्यक्रम संयोजक कोपिला तिमल्सिनाका अनुसार सहभागीका प्रश्न तथा जिज्ञासामाथि सहजीकरणकर्तासँग दोहोरो छलफल गर्दै व्यवहारिक समाधान खोज्ने प्रयास गरिएको थियो।

यसैगरी चन्द्रपुर नगरपालिका तथा वडा नं. ४, ७, ९ र १० का बालअधिकार समितिका सदस्य, सम्बन्धित वडाध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, नगरपालिकाका विभिन्न शाखा प्रमुख, शिक्षा, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, विपद् व्यवस्थापन शाखा, मनोविमर्शकर्ता, सूचीकृत समाजसेवी तथा मनोविज्ञसहित ३० जनाको सहभागितामा बालअधिकारसम्बन्धी अर्को दुईदिने तालिम सञ्चालन गरिएको थियो।समापन कार्यक्रममा चन्द्रपुर नगरपालिका–४ का वडाध्यक्ष रवी राना मगर, वडा नं. ७ का वडाध्यक्ष विष्णु उप्रेती, वडा नं. ९ का वडाध्यक्ष नवराज देवकोटा र वडा नं. १० का वडाध्यक्ष टंकेश्वर चौधरीले बालअधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँहरूले छोरी संस्थाले बालअधिकार, बालसंरक्षण र सकारात्मक अनुशासनका क्षेत्रमा गर्दै आएको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा समेत आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बालअधिकार संरक्षणलाई प्रभावकारी बनाउन नीति र कानुनसँगै व्यवहारमा पनि सकारात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाप्रतिको बुझाइ, व्यवहार र अनुशासनको पद्धतिमा सुधार ल्याउन यस्ता तालिम उपयोगी हुने भन्दै स्थानीय तहबाट आवश्यक सहकार्य र समन्वय जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिमले विद्यालय तथा समुदायमा बालबालिकाप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुका साथै बालसंरक्षण र सकारात्मक अनुशासनको अभ्यासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 39 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts