चन्द्रनिगाहपुर, ६ भाद्र / नेवाः पत्रकार राष्ट्रिय दबू मधेश प्रदेशको अध्यक्षमा रौतहटका युवा पत्रकार युवास श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न दबूको प्रथम प्रदेश भेलाले श्रेष्ठको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो ।
भेलाबाट सिराहाका रविन्द्र श्रेष्ठ र बाराकी मञ्जु मानन्धर उपाध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै रौतहटका दीपक श्रेष्ठ सचिव र रिना श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ ।प्रदेश समिति सदस्यमा सर्लाहीका सञ्जीव श्रेष्ठ, बाराका प्रकाश श्रेष्ठ र सन्तोष रन्जितकार चयन हुनुभएको छ । भेलाले शंकर श्रेष्ठ, जीतलाल श्रेष्ठ र गौतम श्रेष्ठलाई केन्द्रीय पार्षद्का रूपमा समेत चयन गरेको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिका उपाध्यक्ष सन्दिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरी, चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसी, प्रेस चौतारी नेपाल रौतहटका अध्यक्ष अशोक पहाडी, प्रेस सेन्टर नेपाल रौतहटका अध्यक्ष डिल्लीबहादुर कार्की, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरी तथा नेवा देय दबू रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले पत्रकारिता क्षेत्रले समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । पत्रकारहरूले समाचार सम्प्रेषणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नेवारी समुदायको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान गर्नुपर्ने उनीहरूको भनाइ थियो ।वक्ताहरूले नेवा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई त्यसतर्फ आकर्षित गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै समुदायका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष युवास श्रेष्ठले मधेश प्रदेशमा रहेका नेवा पत्रकारहरूलाई संगठित गर्दै पत्रकारिता क्षेत्रमा व्यावसायिक क्षमता अभिवृद्धि तथा समुदायका भाषा, संस्कृति र पहिचानका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउनुभएको छ ।
चन्द्रनिगाहपुरमा सम्पन्न प्रथम प्रदेश भेलासँगै मधेश प्रदेशमा नेवाः पत्रकार राष्ट्रिय दबूको संस्थागत संरचना विस्तार भएको छ । नयाँ नेतृत्वले प्रदेशभरका नेवा पत्रकारलाई संगठित गर्दै पत्रकारिता र समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
Comments