रौतहट, ५ बैशाख / इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले बसमा सवार यात्रुको पैसा चोरेर भाग्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ। वैशाख ४ गते शुक्रबार बिहान १० बजे पश्चिमबाट पूर्व जाँदै गरेको बस रौतहटको चन्द्रनिगाहपुर खण्ड आइपुग्दा बसमा सवार यात्री तारादेवी राईको झोलाबाट पर्स झिकेर चोरी गरी बसबाट ओर्लिएर इरिक्सामा भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक मेरुलालप्रसाद गुप्ताको कमाण्डमा रहेको टोलीले लखेटेर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय अभिषेक तामाङ रहेको प्रहरीले जनाएको छ। तामाङले पक्राउ परेपछि सुरुमा उल्टै पिडित यात्रुलाई आरोप लगाएको भन्दै गालीगलौज गरेका थिए । तर प्रहरीले खानतलासी गर्दा उनको जुत्ता भित्रबाट चोरी गरेको रकम बरामद भएको र तामाङलाई जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।
Comments