रौतहट, ११ बैशाख / चन्द्रनिगापुर सिटी जेसिजले आफ्नो १३औँ स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवामा समर्पित कार्य गरेको छ। स्थापना दिवसको अवसरमा जेसिजले चन्द्रपुर नगरपालिका–७ स्थित वनबोहरीमा रहेको मानव सेवा आश्र मा आश्रित व्यक्तिहरूका लागि बिहानको भोजन सेवा उपलब्ध गराएको हो।
कार्यक्रममा जेसिजका अध्यक्ष देवराज न्यौपाने सहित पदाधिकारीहरू, पूर्व अध्यक्षहरू तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आश्रममा आश्रित वृद्धवृद्धा, असहाय तथा बेसहारा व्यक्तिहरूसँग समय बिताउँदै भोजन वितरण गरेका थिए। उक्त कार्यक्रमले मानवीय संवेदनशीलता र सामाजिक सहकार्यको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।
आश्रयस्थलका संयोजक काशीराम जोशी ले जेसिजको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आश्रममा बसोबास गरिरहेका व्यक्तिहरूलाई ठूलो राहत पुगेको बताउनुभयो। “यस्ता सहयोगी हातहरूकै कारण हामीले यहाँका आश्रितहरूको दैनिक जीवन सहज बनाउन सकेका छौँ,” उहाँले भन्नुभयो।
जेसिजका महासचिव भीमराज अधिकारीले संस्थाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार जेसिजले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। “स्थापना दिवसलाई केवल औपचारिक रूपमा मनाउनेभन्दा पनि समाजमा केही सकारात्मक योगदान दिने अवसरका रूपमा लिँदै आएका छौँ,” उहाँले बताउनुभयो।
चन्द्रनिगापुर सिटी जेसिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा यस्ता सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यसले समुदायमा सकारात्मक सन्देश फैलाउनुका साथै युवाहरूलाई सामाजिक कार्यमा प्रेरित गर्ने उद्देश्य राखेको संस्थाका अध्यक्ष न्यौपानेले बताउनुभयो।
कार्यक्रमले स्थानीय स्तरमा सहकार्य, सेवा र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको र यस्ता गतिविधिहरूले समाजका विपन्न र असहाय वर्गप्रति सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले लिनुभयो ।
Comments