रौतहट , १७ फागुन / नेपाली कांग्रेसको आयोजनामा बृन्दावन नगरपालिका–४ मा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरेका नेताहरू तथा कार्यकर्ताहरू ठूलो संख्यामा कांग्रेसमा प्रवेश गरेका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेस प्रदेशका मुख्यमन्त्री तथा प्रदेश सभापतिकृष्णप्रसाद यादव र प्रतिनिधिसभा निर्वाचन रौतहट ४ का उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य देब प्रसाद तिमल्सिना लगायत जिल्लाका अन्य उम्मेदवारहरू तथा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त अवसरमा नेपाली कम्युनिस्ट पार्टीका २०७४ सालका विधायक प्रत्यासी नागेन्द्र यादव, बृन्दावन–४ का वडाध्यक्ष श्यामनन्दन यादव, चन्द्रपुर–९ का दिलिप सापकोटा लगायतका नेता–कार्यकर्ताले आ–आफ्नो पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
उनीहरूसँगै ठुलो संख्यामा समर्थक तथा कार्यकर्ताहरूले पनि कांग्रेसको सदस्यता लिएको जनाइएको छ।प्रमुख अतिथि गगन थापाले देशमा लोकतन्त्र सुदृढीकरण, सुशासन र विकासका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ प्रवेशीहरूलाई स्वागत गर्नुभयो। उहाँले राजनीतिक स्थायित्व र समृद्धिका लागि कांग्रेसको नीति तथा कार्यक्रम जनमुखी रहेको दाबी गर्नुभयो। साथै, फरक विचार बोकेर आएका व्यक्तिहरूलाई पनि पार्टीले समान अवसर र सम्मान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि मधेस प्रदेशका कृष्णप्रसाद यादवले मधेस प्रदेशमा विकास, रोजगारी र पूर्वाधार निर्माणलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताउँदै जनताको अपेक्षा पूरा गर्न कांग्रेसले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टी प्रवेश गर्नेहरूलाई जिम्मेवारीपूर्वक संगठन सुदृढीकरणमा लाग्न आह्वान गर्नुभयो।कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार देब प्रसाद तिमल्सिनाले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर देखिएको दाबी गर्दै जनताको विश्वासलाई कायम राख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सार्वजनिक गर्नुभयो।
नयाँ प्रवेशी नेता नागेन्द्र यादवले विगतका अनुभवबाट सिक्दै अब जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस रोजेको बताउनुभयो। अन्य वक्ताहरूले पनि कांग्रेसको विचारधारा र संगठनप्रति विश्वास व्यक्त गर्दै सक्रिय रूपमा पार्टी गतिविधिमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए।बृहत् पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले फूलमाला तथा टीका लगाएर नयाँ सदस्यहरूलाई स्वागत गरेका थिए। कार्यक्रमले कांग्रेसको संगठन थप बलियो बनाउने र देवप्रसाद तिमल्सिनालाई विजयी गराउने अपेक्षा नेपाली कांग्रेसले लिएको छ।
Comments