रौतहट, १७ फागुन । मतदानको दिन नजिकिँदा रौतहट–४ मा यसपटक प्रतिस्पर्धा विगतभन्दा फरक र अनिश्चित देखिएको छ । अघिल्ला निर्वाचनहरूमा दलीय गठबन्धनको सहाराले स्पष्ट ध्रुवीकरण देखिन्थ्यो । यसपटक गठबन्धन छैन । सबै दल आ–आफ्नै चुनाव चिह्नसहित मैदानमा उत्रिएका छन् । कोही ढुक्क छैनन्, हतारमा देखिन्छन् । नयाँ दल र नयाँ एजेन्डाले मतदाताको ध्यान तानिरहेका छन् भने परम्परागत शक्तिलाई जित निकाल्न निकै चुनौती छन् । मतदाता खुला रूपमा प्रतिबद्ध नभई विकल्प खोजिरहेको आकलन गरिएको छ । स्थानीय विश्लेषकहरूका अनुसार स्थायी संगठन र विगतको मतपरिणाम मात्र पर्याप्त आधार नहुन सक्छ । यो त्यही क्षेत्र हो जहाँ जित सहज हुने ठानेर काठमाडौंबाट पत्रकार ऋषि धमला झरेका छन् । उनका थरी–थरीका चटकका फुटेज समाजिक सञ्जालमा भ्युअर बटुल्दैछन् । मतदानको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा छ । उम्मेदवारहरू गाउँ–टोलमा मतदातासँग भेटघाट र घरदैलो अभियानमा व्यस्त छन् । यस क्षेत्रमा २० स्वतन्त्रसहित ३७ जना उम्मेदवार मैदानमा छन्, जसमध्ये सात जना महिला छन् । धेरै उम्मेदवार प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा ठूला दलहरूबीच नै हुने आकलन गरिएको छ ।देवप्रसाद तिमल्सिना लगातार तेस्रोपटक जित निकाल्ने लक्ष्यका साथ मैदानमा छन् । २०७४ मा उनले वाम गठबन्धनका उम्मेदवार डा. वंशीधर मिश्रलाई ५ हजार २२२ मतान्तरले पराजित गरेका थिए भने २०७९ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेर एमालेका उद्धवप्रसाद रेग्मीलाई ७ हजार ७१२ मतान्तरले हराउँदै दोस्रोपटक निर्वाचित भएका थिए । २०७० मा भने उनी एमालेका रामकुमार भट्टराईसँग पराजित भएका थिए । यसपटक गठबन्धन नभएकाले प्रतिस्पर्धा कडा हुने देखिएको छ । तिमल्सिनाले पार्टी रूपान्तरणको सन्देश दिँदै आफूले गर्न बाँकी काम पूरा गर्न पुनः अवसर मागिरहेका छन् ।एमालेबाट रामजी साह उम्मेदवार छन् । उनले पार्टी संगठन बलियो रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता बनाउने बताएका छन् । बन्द रहेको श्रीराम सुगर मिल सञ्चालनमा पहल गर्ने उनको प्रतिबद्धता छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराई पनि अनुभवी नेता हुन् । २०७० मा संविधानसभा सदस्य बनेका उनले संविधान निर्माणमा भूमिका खेलेको उल्लेख गर्दै संसदमा नागरिकमैत्री कानुन निर्माणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल परिवर्तनको एजेन्डासहित मैदानमा छन् । उनीहरू चुनाव प्रचारमा ‘आपकी बार बालेन सरकार’ भन्ने नारा प्रयोग गर्दै बालेन्द्र शाहको नाममार्फत मतदाता आकर्षित गर्ने प्रयासमा छन् । पुराना दलप्रति असन्तुष्टि बढेको दाबी गर्दै रास्वपाले आफूहरू वैकल्पिक शक्ति भएको सन्देश दिइरहेको छ ।यसै क्षेत्रमा सञ्चारकर्मी ऋषि धमला पनि प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार छन् । घरदैलोका क्रममा खेतमा उखु बोक्ने, जेरी बनाउने, काठ चिर्ने जस्ता गतिविधि गर्दै उनी सामाजिक सञ्जालमा चर्चामा छन् । उनले क्षेत्र विकासमा बलियो नेतृत्व अभाव रहेको भन्दै आफू विजयी भए पूर्वाधार विकासमा गति दिने दाबी गरेका छन् ।जसपा नेपालका उम्मेदवार राजकुमार दासले मधेसको हित र युवाको रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । २०७९ को समानुपातिक मतपरिणामअनुसार कांग्रेस यस क्षेत्रमा अगाडि देखिए पनि प्रत्यक्षतर्फको प्रतिस्पर्धा खुला र अनिश्चित छ । गठबन्धनविहीन प्रतिस्पर्धा, बहुसंख्यक उम्मेदवार र मतदाताको मौन धारणा यसपटकको परिणामलाई चासोको विषय बनाएको छ । कांग्रेस, एमाले र वामपन्थी शक्तिहरू संगठनकै बलमा आशावादी रहँदा परिवर्तनको नारासहित मैदानमा उत्रिएको रास्वपाले बाजी मार्छ कि मार्दैन भन्ने प्रश्नले चुनावी माहोल झन् तातेको छ ।१ लाख १० हजार ३१४ मतदाता रहेको यो क्षेत्रमा वृन्दावन, गढीमाई, चन्द्रपुर र गरुडा नगरपालिका पर्छ । महिलाका तुलनामा पुरुष मतदाताको संख्या अधिक छ । निर्वाचन आयोगको सूचीअनुसार यहाँ महिला मतदाता ५१ हजार ४७८ छन् भने पुरुषको संख्या ५८ हजार ८३६ छ ।यहाँका चोक र चिया भेलाका कुराकानी सुन्दा मतदाताको मनोविज्ञान परिवर्तनतर्फ ढल्किएको संकेत देखिन्छ । युवा मतदाताको संख्या बढ्दै जानु, सामाजिक सञ्जालमार्फत फैलिएको वैकल्पिक राजनीतिक बहस र उम्मेदवारहरूको व्यक्तिगत छवि यसपटक निर्णायक बन्न सक्ने आकलन गरिएको छ । त्यसैले यो निर्वाचन परम्परागत शक्ति परीक्षण मात्र नभई नयाँ राजनीतिक धारको प्रभाव मापन गर्ने अवसरका रूपमा हेरिएको छ ।
रौतहट -४ , पुरानालाई संगठनको भर, नयाँलाई बालेनको
प्रकाशित:
शब्दको आकार
Comments