रौतहट, ११ श्रावण/ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रौतहट जिल्ला प्रशासन कार्यालयले बाढी प्रभावित क्षेत्रमा पुगेका र हालसम्म सम्पर्कमा नआएका रौतहटका नागरिकको विवरण उपलब्ध गराउन जिल्लावासीलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत भोटेकोशी नदी प्रभावित क्षेत्रमा व्यापार, रोजगारी, भ्रमण तथा तीर्थयात्राका क्रममा गएका आफन्त वा परिवारका सदस्य हालसम्म सम्पर्कमा नआएको भए तत्काल जानकारी गराउन अनुरोध गरेको हो। प्रशासनले सम्पर्कविहीन व्यक्तिको विवरण टिपाउन वा खोजतलासका लागि प्रमुख जिल्ला अधिकारी रौतहट, प्रहरी उपरीक्षक, सूचना अधिकारी, प्रशासन शाखा तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ।
विवरणका लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छः
प्रमुख जिल्ला अधिकारी, रौतहट : ९८५५०३७७७७प्रहरी उपरीक्षक,
जिल्ला प्रहरी कार्यालय रौतहट : ९८५५०३५५५५
सूचना अधिकारी : ९८५५०४७७७२प्रशासन शाखा : ९८४९१९७९४६०
जिल्ला आपत्कालीन सञ्चालन केन्द्र : टोल फ्री १२३४, ल्याण्डलाइन ०५५–५२०४२४

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी मणिभुषण शाहका अनुसार विपद्को समयमा हराएका वा सम्पर्कविहीन भएका व्यक्तिको यकिन विवरण संकलन गर्नु अत्यन्त महत्वपूर्ण भएकाले आफन्तजनले ढिला नगरी सम्बन्धित निकायमा सूचना दिनुपर्छ। शाहले प्रशासनको सूचनामा उल्लेख गर्दै भनेका छन्, “सम्पर्कमा नआएका आफन्त वा परिवारका सदस्यहरूबारे सोको जानकारी अविलम्ब उपलब्ध गराउनुहुनका साथै चौबीसै घण्टा विवरण टिपाउन वा खोजतलासका लागि सम्पर्क गर्न सक्नुहुनेछ।”
यसैबीच, प्रशासनले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वेच्छिक आर्थिक सहयोग गर्न चाहनेलाई नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आधिकारिक खातामार्फत सहयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, सहयोग उपलब्ध गराउँदा कुनै पनि व्यक्ति वा संस्थाले नगद रकम संकलन नगर्न तथा वस्तुगत सहायता उपलब्ध गराउँदा अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर मात्र उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्ती, बजार, सडक तथा पुलमा ठूलो क्षति पुगेको र खोज तथा उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ।
Comments