Skip to content

रौतहटमा फर्सीको बिउ नियन्त्रणमा लिन खोज्दा झडप, ६ जना घाइते

file_00000000fc287208931f6202fa12fe22(1)
प्रकाशित:
शब्दको आकार

रौतहट, असार २७ — रौतहटको बौधीमाई नगरपालिका–७ बाडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको फर्सीको बिउ नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपका क्रममा स्थानीय तथा प्रहरीसहित ६ जना घाइते भएका छन्।प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७:३० बजे मस्जिद पछाडि सीमावर्ती बाटो नजिक त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरी टोलीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो।

पछि इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले थप दुई राउण्ड अश्रुग्यास फायर गरेको जनाएको छ।घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमको कमाण्डमा ५४ जना तथा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २० जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। हाल उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।झडपमा बौधीमाई नगरपालिका–७ निवासी ४० वर्षीया सुदामा देवी राय, ४० वर्षीया हिरा मोतिया देवी यादव र ४५ वर्षीय जयलाल ठाकुर हजाम घाइते भएका छन्। उनीहरूको चन्द्र ज्योति कान्ति अस्पताल, बंकुलमा उपचार भइरहेको छ। सुदामा देवी र हिरा मोतिया देवीको शरीरमा सामान्य चोट लागेको छ भने जयलाल ठाकुरको बायाँ खुट्टामा काटिएको तथा अन्य चोट लागेकाले उनको अवस्था मध्यम रहेको बताइएको छ।

यस्तै, प्रहरीतर्फ प्रहरी बरिष्ठ हवल्दार गजेन्द्र यादव, प्रहरी सहायक हवल्दार सम्झना चौधरी र प्रहरी सहायक हवल्दार देवराज महतो घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचारपछि कार्यालय फर्किएको प्रहरीले जनाएको छ।प्रहरीले घटनास्थलबाट कुल ३२२ बोरा फर्सीको बिउ बरामद गरेको छ। प्रत्येक बोरामा ४० किलोग्रामका दरले जम्मा १२ हजार ८८० किलोग्राम बिउ रहेको छ। बरामद बिउको प्रति बोरा मूल्य २८ हजार रुपैयाँका दरले कुल अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको बिउको स्रोत, स्वामित्व तथा तस्करीसँग सम्बन्धित पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी थप कडा बनाइएको प्रहरीले बताएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 2 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts