चन्द्रपुर , २८ श्रावण / रौतहटको चन्द्रपुर नगरपालिका–५ मा सञ्चालित ‘द बगान’ रेष्टुरेन्टले व्यवसायिक प्रतिस्पर्धाभन्दा ग्राहकलाई सम्मान गर्ने संस्कारको विकासमा जोड दिएको बताएको छ।
रेष्टुरेन्टले एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यवसायलाई लिएर अनावश्यक रूपमा वातावरण बिगार्ने प्रयास नगर्न आग्रहसमेत गरेको छ। विज्ञप्तिमा केही समूहमा आएका व्यक्तिहरूले रेष्टुरेन्टको वातावरणलाई असहज बनाउने गतिविधि गर्ने गरेको दाबी गरिएको छ। खाना खाने क्रममा समेत मास्क तथा हेलमेट नखोल्ने तथा रेष्टुरेन्टको वातावरण बिगार्ने उद्देश्यले आएको जस्तो देखिने गतिविधि हुने गरेको ‘द बगान’को भनाइ छ।
त्यस्तै, रेष्टुरेन्टमा नआएका व्यक्तिहरूबाट समेत आफ्नो व्यवसायबारे धारणा निर्माण गराउने प्रयास हुने गरेको उल्लेख गर्दै ‘द बगान’ले व्यवसायमा यस्ता साना प्रतिस्पर्धात्मक गतिविधि भइरहने आफूहरूले बुझेको जनाएको छ। तर, वास्तविक ग्राहक तथा अतिथिहरू भने रेष्टुरेन्टमा पुनः फर्किएर धन्यवाद दिने गरेको द बगानको दाबी छ। केही ग्राहकले ‘तपाईंहरू आएपछि चन्द्रपुरमा ग्राहकलाई सम्मान गर्ने संस्कृति नै बढ्यो’ भन्ने प्रतिक्रिया दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ग्राहकलाई राम्रो व्यवहार गर्न प्रेरित गर्न सके त्यसलाई आफूहरूले प्रतिस्पर्धाका रूपमा नभई चन्द्रपुरको प्रगतिका रूपमा लिने रेष्टुरेन्टले जनाएको छ। ‘द बगान’ले नआएका व्यक्तिहरूको नकारात्मक समीक्षा वा रेटिङभन्दा रेष्टुरेन्टमा आएर सन्तुष्ट भएर फर्किने अतिथिहरूलाई प्राथमिकता दिने स्पष्ट पारेको छ। रेष्टुरेन्टले आफ्नो उपस्थितिका कारण चन्द्रपुरका ग्राहकले आफ्नो पैसा, समय र उपस्थितिको थप सम्मान पाउन थालेको भए त्यसलाई आफ्नो मात्र नभई समग्र चन्द्रपुरको जीतका रूपमा लिनुपर्ने बताएको छ।
‘हामी कसैसँग प्रतिस्पर्धा गर्न आएका होइनौँ, एउटा स्ट्यान्डर्ड सुरु गर्न आएका हौँ,’ विज्ञप्तिमा भनिएको छ। साथै, सबै व्यवसायीलाई आ–आफ्नो क्षेत्रमा अघि बढ्दै चन्द्रपुरलाई अझ राम्रो बनाउने दिशामा सहकार्य गर्न शुभकामना दिँदै ‘अतिथि देवो भवः’को भावनालाई आत्मसात् गर्न आग्रह गरिएको छ।
‘द बगान’ चन्द्रपुर नगरपालिका–५ मा एक महिना अघिदेखि सञ्चालनमा आएको रेष्टुरेन्ट हो। पछिल्लो समय यसले चन्द्रनिगाहपुरमा आफ्नो सेवाको कारण ग्राहकहरूको मन जित्दै आइरहेको छ।
Comments