रौतहट, १५ श्रावण/ नमुना इङ्गलिस आवासीय विद्यालय, चन्द्रनिगाहपुरमा सञ्चालन गरिएको ‘आरम्भ (AARAMBHA)–कोडिङ क्याम्प’ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय र End Codes Pvt. Ltd. को सहकार्यमा आयोजित क्याम्पले विद्यार्थीहरूलाई भविष्यका लागि आवश्यक डिजिटल सीप, नवप्रवर्तन र सिर्जनशीलतासँग परिचित गराएको विद्यालयले जनाएको छ।

क्याम्पमा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूले रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (IoT) सम्बन्धी आधारभूत ज्ञान तथा व्यवहारिक अभ्यास गरेका थिए। उनीहरूले आफ्नै स्मार्ट परियोजना तयार गर्दै समस्या समाधान गर्ने क्षमता, तार्किक सोच र सिर्जनात्मकता विकास गर्ने अवसर पाएको विद्यालयका कोअर्डिनेटर बसन्त सुब्बाले बताउनुभयो ।
उहाँका अनुसार ८, ९ र १० का विद्यार्थीहरूले AI Prompting, Content Creation, Digital Marketing, WordPress Website Development, Programming Fundamentals, Database Concepts लगायतका आधुनिक प्रविधिसम्बन्धी विषयमा व्यावहारिक प्रशिक्षण प्राप्त गरेका थिए।

क्याम्पमार्फत विद्यार्थीहरूलाई प्रविधिको प्रयोगकर्ता मात्र नभई सिर्जनाकर्ता बन्न प्रेरित गरिएको आयोजकले जनाएको छ।विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले आजको शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। उहाँले भविष्यका चुनौतीसँग सामना गर्न सक्ने दक्ष जनशक्ति तयार गर्न प्रविधिमैत्री र सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै ‘आरम्भ’ त्यसतर्फको महत्वपूर्ण प्रयास भएको बताउनुभयो।
विद्यालयका निर्देशक लक्ष्मी श्रेष्ठले डिजिटल युगमा विद्यार्थीहरूलाई सानैदेखि आधुनिक प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयले विद्यार्थीलाई केवल परीक्षामा उत्कृष्ट बनाउने मात्र नभई जीवन र भविष्यको करियरका लागि सक्षम बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

क्याम्पका प्रोजेक्ट म्यानेजर विकल्प श्रेष्ठले कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई भविष्यमा आवश्यक पर्ने डिजिटल सीपसँग व्यवहारिक रूपमा परिचित गराउनु रहेको बताउनुभयो। विद्यार्थीहरूको सिक्ने उत्साह, जिज्ञासा र नयाँ प्रविधिप्रतिको रुचिले आफूहरूलाई थप प्रेरित गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ उन्नत स्तरका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

प्रशिक्षक आर्यमन यादवले विद्यार्थीहरूले रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता (AI) र प्रोग्रामिङप्रति देखाएको रुचि उत्साहजनक रहेको बताउनुभयो। सही अवसर र मार्गदर्शन पाए विद्यालय तहबाटै उत्कृष्ट नवप्रवर्तक तयार गर्न सकिने विश्वास यस क्याम्पले दिलाएको उहाँको भनाइ छ।
अर्का प्रशिक्षक सुलभ उप्रेतीले व्यवहारिक सिकाइले विद्यार्थीहरूको आत्मविश्वास उल्लेखनीय रूपमा वृद्धि भएको बताउनुभयो। विद्यार्थीहरूले सिद्धान्तसँगै आफ्नै परियोजना निर्माण गरेर सिक्ने अवसर पाएको उल्लेख गर्दै उहाँले यस्ता अनुभवले भविष्यमा उनीहरूलाई नवप्रवर्तन र उद्यमशीलतातर्फ समेत प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयले क्याम्प सफल बनाउन सहयोग गर्ने End Codes Pvt. Ltd., प्रशिक्षकहरू, मार्गदर्शकहरू तथा सम्पूर्ण आयोजक टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ
Comments