रौतहट, २५ बैशाख/ रौतहटको चन्द्रपुर नगरपालिकामा कारखाना समूहद्वारा सञ्चालित ‘खेल्दै सिक्दै’ कक्षा परियोजनाअन्तर्गत एक वर्षे Teaching Community of Play (TeaCoP) Course पूरा गरेका शिक्षकहरूको वर्ष–१ समापन तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी शिक्षकहरूले आफ्नो सिकाइ अनुभव साझा गर्नुका साथै परियोजनाले विद्यालय शिक्षण सिकाइमा ल्याएको परिवर्तनबारे प्रस्तुति दिएका थिए।
कारखाना समूहको सहयोगमा सञ्चालित सो परियोजना अन्तर्गत चन्द्रपुर नगरपालिकाभित्रका ६ वटा विद्यालयका २४ जना शिक्षकले एक वर्षे TeaCoP Course (टिकोप कोर्स) सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो।उहाँहरुलाई सम्मान पत्र सहित विदाई गर्दै साथै आगामी वर्षका लागि छनोट भएका नयाँ शिक्षकहरूलाई स्वागत समेत गरिएको थियो।
‘खेल्दै सिक्दै’ परियोजनाले बालबालिकालाई खेलमार्फत सिक्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको संस्थाका कार्यकारी निर्देशक सचेत मानन्धरले बताउनुभयो। सीमित स्रोत भएका विद्यालयहरूमा पनि सरल, व्यवहारिक र आकर्षक सिकाइ वातावरण सिर्जना गर्दै बालबालिकामा सिर्जनशीलता, अन्वेषण तथा समस्या समाधान गर्ने क्षमता विकास गर्ने परियोजनाको लक्ष्य रहेको उहाँको भनाइ छ। परियोजनाले शिक्षकहरूलाई कक्षाकोठामा प्रयोगात्मक गतिविधि सञ्चालन गर्न प्रोत्साहन गर्दै सिकाइलाई थप प्रभावकारी, रमाइलो तथा सहभागितामूलक बनाउने प्रयास गरिरहेको संस्थाका मधेस प्रदेश संयोजक निरज कुमार मिश्रले बताउनुभयो।
कार्यक्रममा सहभागी शिक्षकहरूले आफ्नो सिकाइ यात्राको नक्सांकन प्रस्तुत गर्दै परियोजनाको सुरुआतदेखि हालसम्म भएको परिवर्तनबारे अनुभव सुनाउनुभएको थियो। विद्यार्थीहरूले पनि परियोजनाबाट प्राप्त सिकाइ सामग्री तथा मार्गदर्शनको सहयोगमा तयार गरेका विभिन्न परियोजनाहरू प्रदर्शन गर्नुभएको थियो। एक वर्षे प्रमाणित तालिम कोर्स TeaCoP Course ले शिक्षकहरूलाई खेलमा आधारित तथा हातैले गरेर सिक्ने विधिलाई शिक्षण अभ्यासमा समावेश गर्न सहयोग गर्ने संस्थाका कार्यक्रम प्रबन्धक प्रेक्षा श्रेष्ठले जानकारी दिनुभयो ।
“Learn, Do, Reflect” प्रक्रियामा आधारित यस कोर्समार्फत शिक्षकहरूले विभिन्न स्रोतबाट सिक्ने, सिकाइ सामग्री प्रयोग गर्ने, विद्यार्थीलाई सक्रिय सिकाइमा सहभागी गराउने तथा आफ्ना अनुभवमाथि समीक्षा गर्ने अभ्यास गर्नुभएको संस्थाका शिक्षक प्रशिक्षक निशा श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाया चौधरीले खेलमा आधारित सिकाइले बालबालिकाको आत्मविश्वास तथा सिर्जनात्मक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले विद्यालय शिक्षामा यस्ता व्यवहारिक तथा विद्यार्थीमैत्री कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले परियोजनाले शिक्षक तथा विद्यार्थी दुवैमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै नगरपालिकाले यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने जानकारी दिनुभयो।शिक्षा शाखा प्रमुख दिपेन्द्रकुमार मण्डलले ‘खेल्दै सिक्दै’ परियोजनाले सिकाइलाई व्यवहारिक तथा प्रभावकारी बनाएको उल्लेख गर्दै शिक्षकहरूको सक्रिय सहभागिताले विद्यालयमा नयाँ अभ्यास सुरु भएको बताउनुभयो।
शिक्षा शाखा अधिकृत जुना तिमिल्सिनाले बालबालिकाको रुचिअनुसार सिकाइ विधि विकास गर्नु अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।कार्यक्रममा कारखाना समूहले आफ्नो वेबसाइटलाई डिजिटल सिकाइ स्रोत पुस्तकालयका रूपमा विकास गरिएको जानकारीसमेत प्रस्तुत गरेको थियो।
सो परियोजना अन्तर्गत चन्द्रपुर नगरपालिकाका श्रीकृष्ण मावि बालचनपुर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खौराहा, श्री माध्यमिक विद्यालय डुमरिया, श्री पञ्च निम्न माध्यमिक विद्यालय चेतनगर, श्री कालिका माध्यमिक विद्यालय बनबहुआरी, श्री शिबशक्ति आधारभूत विद्यालय मोतिपुर समावेश छन्।
Comments