Skip to content

चन्द्रपुरमा बाल अधिकार, बाल संरक्षण र अर्थपूर्ण बाल सहभागितासम्बन्धी तालिम सम्पन्न

Screenshot_20260511_214944_Gallery
प्रकाशित:
शब्दको आकार

रौतहट , २७ बैशाक / रौतहटको चन्द्रपुरमा बाल अधिकार, बाल संरक्षण तथा अर्थपूर्ण बाल सहभागितासम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । छोरी संस्थाको आयोजनामा सम्पन्न उक्त तालिममा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडासदस्य तथा बालक्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक सुशिलराज गिरीले गर्नुभएको थियो ।

उहाँले बालअधिकार संरक्षणका कानुनी व्यवस्था, स्थानीय तहको भूमिका, बालमैत्री स्थानीय शासनको अवधारणा तथा बालबालिकाको अर्थपूर्ण सहभागिताका विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले बालबालिकालाई केवल कार्यक्रममा सहभागी गराउने मात्र नभई उनीहरूको आवाजलाई नीति तथा योजना निर्माणमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाल, वडा नं. ३ का वडाध्यक्ष बोधनाथ देवकोटा, वडा नं. ६ का वडाध्यक्ष सहदेव केसी, वडा नं. ९ का वडाध्यक्ष नवराज देवकोटा, वडा नं. १० का वडाध्यक्ष टंकेश्वर चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र मण्डल , सामाजिक विकास शाखा प्रमुख मिश्रीलाल साह, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बराल , वडासदस्य , वडा सचिवहरु , कर्मचारीहरु तथा बालक्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बालबालिकाको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालमैत्री नगर निर्माणका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ । यस्ता तालिमले हामीलाई थप स्पष्टता र ऊर्जा प्रदान गरेको छ। चन्द्रपुर नगरपालिकालाई बालमैत्री नगर बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दछुँ ।”

वडा नं. ३ का वडाध्यक्ष बोधनाथ देवकोटाले बाल संरक्षणको सवालमा समुदायस्तरमै सचेतना अभिवृद्धि आवश्यक रहेको बताउँदै आफुहरुलेपनि बाल अधिकारको सवालमा विगतमा पनि कामहरु गरिरहेको स्मरण गर्नुभयो ।

वडा नं. ६ का वडाध्यक्ष सहदेव केसीले बालबालिकाको आवाजलाई विकास योजनामा समेट्न सके मात्र वास्तविक अर्थमा बालमैत्री नगर निर्माण सम्भव हुने धारणा राख्दै यसमा सरोकारवाला सबैको हातेमालो हुनुपर्नेमा जोड दिनुभयो । बालक्लबका प्रतिनिधिहरूले पनि आफ्ना धारणा राख्दै स्थानीय तहका निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता अझ प्रभावकारी बनाउन आग्रह गरेका थिए । उनीहरूले विद्यालय, समुदाय तथा स्थानीय सरकारबीच समन्वय बढाएर बालमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

छोरी संस्थाका कार्यक्रम संयोजक कोपिला तिमल्सिनाका अनुसार तालिमका क्रममा चन्द्रपुर नगरपालिकालाई बालमैत्री नगरका रूपमा विकास गर्न तथा बाल अधिकारको संरक्षणका लागि विभिन्न योजना तय गरिएको छ । उहाँले भन्नुभयो, “बालअधिकारको सुनिश्चितता र बाल संरक्षणका सवाललाई स्थानीय तहको प्राथमिकतामा राख्दै आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरिनेछ।”

तालिम समापनसँगै सहभागीहरूले सिकेका विषयलाई व्यवहारमा उतार्दै चन्द्रपुरलाई बालमैत्री नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमले बाल अधिकार संरक्षण तथा बाल सहभागिताको विषयलाई स्थानीय तहमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts