रौतहट, २५ बैशाख / रौतहटको चन्द्रपुर नगरपालिकामा जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। इस्लामिक रिलिफ क्यानडाको आर्थिक सहयोग, इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा RDC नेपालद्वारा सञ्चालित लैंगिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत १ सय ५० जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
चन्द्रपुर नगरपालिका–६ स्थित शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा आयोजित कार्यक्रममा प्रति बालबालिकालाई रु. ४ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ। वितरण गरिएको सामग्रीमा विद्यालय अध्ययनका लागि आवश्यक झोला, कापी, कलम लगायतका सामग्री समावेश रहेका थिए।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले ले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नहुने बताउँदै यस्ता सहयोगात्मक कार्यक्रमले जोखिममा रहेका बालबालिकाको मनोबल बढाउने धारणा व्यक्त गर्नुभयो। उहाँले स्थानीय तह, सामाजिक संस्था तथा सरोकारवालाबीचको सहकार्यले बालबालिकाको शिक्षा र सुरक्षामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाल, नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डल तथा महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बराल लगायतले बालबालिकाको शिक्षा, सुरक्षा र अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
आयोजक संस्थाका अनुसार परियोजनाले विशेषगरी लैंगिक हिंसाको जोखिममा रहेका तथा आर्थिक रूपमा कमजोर अवस्थाका बालबालिकालाई शिक्षामा निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्य राखेको छ।
Comments