रौतहट , २३ बैशाख / रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रवि राना मगरले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबाससम्बन्धी विषयमा वडावासीलाई नआत्तिन आग्रह गर्नुभएको छ । पछिल्लो समय यस विषयमा विभिन्न किसिमका हल्ला र भ्रम फैलिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत स्पष्टिकरणसहित संयमित रहन अपिल गर्नुभएको हो ।
वडाध्यक्ष मगरले सार्वजनिक गर्नुभएको सन्देशमा यस्ता विषयमा डर, त्रास वा अन्योल उत्पन्न हुनु स्वाभाविक भए पनि हतारमा निर्णय गर्न वा भ्रममा पर्न आवश्यक नरहेको उल्लेख गर्नुभएको हो । उहाँले जनताको हित, अधिकार र सम्मानलाई केन्द्रमा राखेर मात्र समाधान खोजिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार कुनै पनि निर्णय गर्दा सम्बन्धित सबै पक्षसँग छलफल, कानुनी प्रक्रिया र उचित व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ। यस प्रक्रियाविना कसैलाई अन्याय हुने अवस्था आउन नदिने स्पष्ट पार्दै उहाँले वडावासीलाई धैर्य र एकता कायम राख्न आग्रह गर्नुभएको हो।
वडाध्यक्ष मगरले आधिकारिक सूचनामा मात्रै विश्वास गर्न समेत अनुरोध गर्दै अनावश्यक अफवाहबाट टाढा रहन सबैलाई सचेत गराउँदै न्यायपूर्ण समाधानका लागि वडा कार्यालय निरन्तर प्रयासरत रहने विश्वास दिलाउनु भएको छ ।
हाल चन्द्रपुर नगरपालिका क्षेत्रमा भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनको विषयलाई लिएर विभिन्न तहमा बहस भइरहेका बेला वडाध्यक्षको यस अपिललाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।
Comments