रौतहट, ७ फागुन / प्रजातन्त्र दिवसको अवसरमा चन्द्रनिगाहपुरस्थित नमुना इङ्गलिस आवासीय विद्यालय ले शिक्षक तथा विद्यार्थीहरूको सहभागितामा सांस्कृतिक पोशाकसहितको झाँकी तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय भावना अभिवृद्धि गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालय परिसरबाट सुरु भएको प्रभातफेरी चन्द्रनिगाहपुर बजारका विभिन्न मुख्य मार्ग परिक्रमा गर्दै पुनः विद्यालयमै आएर समापन गरिएको थियो। सहभागी विद्यार्थीहरूले हातमा राष्ट्रिय झण्डा तथा प्रजातन्त्रसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए। “लोकतन्त्र हाम्रो अधिकार”, “संविधानको सम्मान गरौँ” , “प्रजातन्त्र जिन्दावाद” जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। कार्यक्रममा विभिन्न जातीय तथा सांस्कृतिक पहिचान झल्किने पोशाकमा सजिएका विद्यार्थीहरूले आकर्षक झाँकी प्रस्तुत गरेका थिए। नेपाली समाजको बहुसांस्कृतिक स्वरूपलाई झल्काउने परम्परागत पोशाक र झाँकीले बजार क्षेत्रका सर्वसाधारणको ध्यान आकर्षित गरेको थियो। स्थानीयले पनि विद्यार्थीहरूको प्रस्तुति उत्साहपूर्वक अवलोकन गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले प्रजातन्त्र दिवस केवल औपचारिक उत्सव नभई नागरिक अधिकार, कर्तव्य र उत्तरदायित्वबारे पुनः स्मरण गर्ने दिन भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, सहिष्णुता र अनुशासनलाई जीवनमा आत्मसात् गर्न आग्रह गर्नुभयो। त्यस्तै विद्यालयका निर्देशक लक्ष्मी श्रेष्ठले शिक्षा संस्थाले केवल पाठ्यपुस्तकमा सीमित नरही राष्ट्रिय र सामाजिक चेतनासँग जोडिएका गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिन्। उनले विद्यार्थीहरूलाई राष्ट्रप्रेम, विविधताको सम्मान र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताइन्।कार्यक्रममा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रभातफेरीपछि विद्यालय परिसरमा संक्षिप्त सभासमेत आयोजना गरिएको थियो, जहाँ प्रजातन्त्रको इतिहास र महत्वबारे जानकारी गराइएको थियो। केही विद्यार्थीहरूले लोकतन्त्रसम्बन्धी कविता वाचन तथा मन्तव्य प्रस्तुति पनि दिनुभएको थियो। विद्यालयले हरेक वर्ष राष्ट्रिय दिवसहरूलाई विशेष कार्यक्रममार्फत मनाउँदै आएको जनाएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने विश्वास विद्यालय प्रशासनको छ।प्रजातन्त्र दिवसको अवसरमा आयोजित झाँकी र प्रभातफेरी कार्यक्रमले चन्द्रनिगाहपुर क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यार्थीहरूमा राष्ट्रिय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ
प्रजातन्त्र दिवसमा नमुनाको झाँकी र प्रभातफेरी
प्रकाशित:
शब्दको आकार
Comments