Skip to content

फरक क्षमता भएका बालबालिकाका लागि विद्यालयमा पर्खाल र खेलमैदान निर्माण

IMG-20260921-WA0008
प्रकाशित:
शब्दको आकार

चन्द्रपुर , ४ असोज/ रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाको सुरक्षा तथा सहज सिकाइ वातावरणका लागि पर्खाल र खेलमैदान निर्माण गरिएको छ। चन्द्रपुर नगरपालिका र छाया नेपालको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका उक्त पूर्वाधारको एक कार्यक्रमबीच चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरीले उद्घाटन गर्नुभएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख चौधरी प्रमुख अतिथि तथा छाया नेपालका इन्जिनियर आसिस साह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्त सापकोटाले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो।विद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिकालाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले पर्खाल तथा खेलमैदान निर्माण गरिएको विद्यालयले जनाएको छ।

खेलमैदान निर्माण भएपछि विद्यार्थीलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सहज हुनुका साथै विद्यालय परिसरलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुगेको विद्यालयको भनाइ छ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले विद्यालयमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा सहयोग गरेकोमा चन्द्रपुर नगरपालिका र छाया नेपाललाई धन्यवाद दिनुभयो। उहाँले विद्यालयमा अझै पनि भौतिक तथा शैक्षिक पूर्वाधारको आवश्यकता रहेको बताउँदै दुवै निकायसँग थप सहयोगका लागि माग गरिएको जानकारी दिनुभयो।

अध्यक्ष लामिछानेका अनुसार विद्यालयले आवश्यक अन्य भौतिक पूर्वाधार तथा शैक्षिक विकासका लागि चन्द्रपुर नगरपालिका र छाया नेपालसमक्ष माग राखेको छ। “विद्यालयको आवश्यकताका विषयमा दुवै निकाय सकारात्मक देखिनुभएको छ। आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ,” उहाँले बताउनुभयो।

त्यस्तै, चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरीले फरक क्षमता भएका बालबालिकाका लागि सुरक्षित, सहज र समावेशी शैक्षिक वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। विद्यालयको आवश्यकता र बालबालिकाको हितलाई ध्यानमा राख्दै नगरपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो।

छाया नेपालका इन्जिनियर आसिस साहले विद्यालयमा अध्ययनरत बालबालिकाको सुरक्षा र विकासलाई ध्यानमा राखेर पर्खाल तथा खेलमैदान निर्माणमा सहकार्य गरिएको बताउनुभयो। उहाँले विद्यालयको आवश्यकता पहिचान गरी सम्भव भएसम्म भौतिक तथा शैक्षिक विकासका क्षेत्रमा समेत सहकार्य गर्न संस्था सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो।

विद्यालयले निर्माण सम्पन्न भएका पूर्वाधारबाट विशेष आवश्यकता भएका विद्यार्थीलाई सुरक्षित र अनुकूल वातावरणमा अध्ययन तथा खेलकुद गतिविधिमा सहभागी हुन थप सहज हुने विश्वास व्यक्त गरेको छ। साथै, विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासका लागि आगामी दिनमा स्थानीय तह, गैरसरकारी संस्था तथा अन्य सरोकारवाला निकायसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 54 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts