फुकुओका, जापान, ४ असोज/ थारु समुदाय क्युशु, जापानको आयोजनामा दोस्रो ‘जितिया मिलन कार्यक्रम–२०२६’ जापानको फुकुओकामा भव्य रूपमा सम्पन्न भएको छ।
थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, कला र पहिचानलाई जापानमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा थारु संस्कृतिमा आधारित नाचगान, परम्परागत भेषभूषा, खानपिन तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सभापतित्व थारु समुदाय क्युशुका अध्यक्ष चन्द्रनन्द चौधरीले गर्नुभएको थियो भने Gaurab Mart, Tosu का सञ्चालक गौरव श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जापानमा रहेका थारु समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै जितिया समिति संयोजक गोबिन्द चौधरीले जापानमा रहेका थारु समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउन जितिया मिलन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विदेशमा रहेका नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै नेपाली तथा जापानी समाजमा थारु समुदायको पहिचान चिनाउन सहयोग पुग्ने बताउनुभयो।
सहभागीहरूले विदेशमा रहेर पनि थारु समुदायको मौलिक संस्कृति, कला, भेषभूषा, खानपिन र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए।“अपन संस्कृति, अपन संस्कार, संरक्षण करु अपन पहिचान” भन्ने भावनासहित सम्पन्न दोस्रो जितिया मिलन कार्यक्रमले जापानमा रहेका थारु समुदायबीच सांस्कृतिक एकता र पहिचानलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।
Comments