रौतहट, ३० असार/ चन्द्रपुर नगरपालिका–५ स्थित नमुना इङ्गलिस आवासीय विद्यालयले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता तथा सिर्जनात्मक सीप विकास गर्ने उद्देश्यले ‘Summer Enrichment Program’ सञ्चालन गरेको छ।प्रथम त्रैमासिक परीक्षा सम्पन्न भएपछि बिदामा रहेका विद्यार्थीहरूको समयलाई सिर्जनात्मक र उपलब्धिमूलक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमको उद्घाटन चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले गर्नुभएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर शिक्षा अधिकारी मण्डलले विद्यालयले परम्परागत कक्षाकोठा शिक्षासँगै व्यवहारिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्नु सकारात्मक अभ्यास भएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा भविष्यका लागि आवश्यक जीवनोपयोगी सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।
जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान प्रदान गर्ने यस्ता कार्यक्रम समयको आवश्यकता भएको बताउनुभयो। “यस्ता व्यवहारिक ज्ञान दिने कार्यक्रमले समग्र विद्यालयको गुणस्तर वृद्धि हुनुका साथै विद्यार्थीको क्षमता विकासमा समेत महत्वपूर्ण मद्दत पुग्छ,” उहाँले भन्नुभयो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका निर्देशक लक्ष्मी श्रेष्ठले बदलिँदो समयसँगै शिक्षण सिकाइको शैली पनि परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो। विद्यार्थीलाई सिर्जनशील, आत्मविश्वासी र प्रतिस्पर्धी बनाउन कक्षाकोठाको शिक्षासँगै अतिरिक्त गतिविधि र व्यवहारिक सिकाइलाई प्राथमिकता दिइएको उहाँले स्पष्ट पार्नुभयो।
विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठका अनुसार नमुना इङ्गलिस आवासीय विद्यालयले स्थापना कालदेखि नै किताबमा आधारित शिक्षासँगै अतिरिक्त सीपमूलक तथा ज्ञानमूलक शिक्षा प्रदान गर्दै आएको छ। यही अभ्यासलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यस वर्ष ‘समर एनरिचमेन्ट प्रोग्राम’ सुरु गरिएको उहाँले जानकारी दिनुभयो। “रौतहट जिल्लामै नौलो अभ्यासका रूपमा यो कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता गतिविधि निरन्तर अघि बढाइनेछ,” उहाँले भन्नुभयो।
विद्यालयका कोर्डिनेटर बसन्त सुब्बाका अनुसार कार्यक्रममा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई छनोट गरी चार वटा विधामा प्रशिक्षण प्रदान गरिनेछ। उहाँले नृत्य, पब्लिक स्पिकिङ, कला तथा संगीत विषयमा अनुभवी प्रशिक्षकमार्फत प्रशिक्षण सञ्चालन हुने जानकारी दिनुभयो।सुब्बाका अनुसार कार्यक्रममार्फत विद्यार्थीहरूको प्रस्तुतीकरण क्षमता, नेतृत्व विकास, सिर्जनशीलता, आत्मविश्वास तथा कलात्मक प्रतिभा अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। साथै, बिदाको समयलाई मनोरञ्जनसँगै सिकाइको अवसरमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम तयार गरिएको उहाँले बताउनुभयो।
विद्यालयले यस्तो कार्यक्रमलाई आगामी वर्षहरूमा अझ विस्तार गर्दै विद्यार्थीको रुचि, प्रतिभा र क्षमता पहिचान गरी उनीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्याउने योजना समेत सार्वजनिक गरेको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले विद्यालयको यस प्रयासलाई उदाहरणीय र अनुकरणीय पहलका रूपमा प्रशंसा गर्नुभएको थियो।
Comments