रौतहट , ११ चैत /नेपालका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यका साथ जमीअत उलमाए नेपालले 'शैक्षिक जागरण अभियान' सञ्चालन गर्ने भएको छ। बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको हो।
२०८२ साल चैत १५ गतेदेखि २०८३ साल वैशाख १५ गतेसम्म सञ्चालन गरिने यस अभियानले विशेष गरी शिक्षाको पहुँचबाट टाढा रहेका मुस्लिम बालबालिकाहरूलाई शिक्षाको पहुँचभित्र ल्याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष मोहम्मद खालिद सिद्धकीले जानकारी दिए ।
उनले मुस्लिम समुदायको मानव विकास सूचकांक, राजनीतिक पहुँच र आयस्रोतमा पछि पर्नुको मुख्य कारण शिक्षानै बताउँदै शिक्षामा सबैको समान सहभागिता जनाउनका लागि यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। पत्रकार सम्मेलनमा जनगणना २०७८ को तथ्याङ्क प्रस्तुत गर्दै उनले मुस्लिम समुदायको शैक्षिक अवस्था दयनीय रहेकाले यसलाई माथि उठाउन यो अभियान सफल हुने धारणा व्यक्त गरे।
तथ्याङ्क अनुसार नेपालको औसत साक्षरता दर ७६.२ प्रतिशत रहेकोमा मुस्लिम समुदायको साक्षरता दर ६१.७ प्रतिशत, मुस्लिम महिलाको साक्षरता दर मात्र ५० प्रतिशत रहेको छ। अभियानले समुदायमा शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, विद्यालय भर्ना दर बढाउने, बिचैमा पढाइ छोड्ने (ड्रपआउट) दर घटाउने र शिक्षाको गुणस्तर सुधारमा टेवा पुऱ्याउने लक्ष्य राखेको संस्थाका सचिव मौलान इजराइललेको भनाइ छ। सचिव इजरायलले शैक्षिक खाडललाई पुर्न र मुस्लिम महिलाहरूको साक्षरता दरमा सुधार ल्याउन विशेष पहल आवश्यक देखिएकाले यो अभियान थालिएको बताए।
समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, अभिभावक परामर्श र विद्यार्थी प्रेरणा कार्यक्रम लगायतका कार्यक्रमहरू रहेको संस्थाका महासचिव मुफ्ती समीम अख्तर कासमीले जानकारी दिए। उनले शिक्षालाई समाज परिवर्तनको मुख्य आधार मान्दै अभियान सफल बनाउन सम्पूर्ण सरोकारवाला, अभिभावक र सञ्चारकर्मीहरूलाई सहयोगका लागि आह्वान गर्दै यसले राज्यलाई पनि शिक्षित देश बनाउन सहयोग गर्ने भएकाले राज्यले पनि अपनत्व लिनुपर्नेमा जोड दिए । कार्यक्रममा मुस्लिम समुदायका विभिन्न अगुवाहरूको समेत उपस्थिति रहेको थियो।
Comments