रौतहट, ९ चैत्र / रौतहट प्रहरीले नक्कली सुन कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ मा अवैध सुन किनबेच भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वको टोलीले मंगलबार दिउँसो होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा निवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरविन्द चौधरी, बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी निवासी ३० वर्षीय संजोक बस्तेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको शरीर तथा कोठा तलासी गर्दा “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाएको धातु १ थान, पोलेर कालो बनाएर टुक्रा पारेको धातु २ थान, दुरवीन १ थान, मोबाइल छ थान बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नक्कली सुनलाई सक्कली भन्दै बिक्री वितरण गर्ने उद्देश्यले कारोबार गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिएको र पक्राउ परेकामाथि ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले प्रवक्ता बस्यालले बताउनुभयो।
Comments