रौतहट, ११ असोज/ रौतहटको चन्द्रपुर नगरपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। चन्द्रपुर नगरपालिकाको आयोजनामा तथा Accountability Lab Nepal लगायतका संस्थाको सहयोगमा चन्द्रपुरस्थित होटल हिमालयमा आयोजित कार्यशालामा नगरपालिकाको स्थानीय शिक्षा योजनाका प्राथमिकता, विद्यमान चुनौती तथा आगामी कार्यदिशाबारे छलफल गरिएको हो।
कार्यशालामा शिक्षामा समतामूलक पहुँच तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) लाई समावेशी दृष्टिकोणका रूपमा कार्ययोजनामा समेट्ने विषयमा विशेष छलफल भएको थियो। सबै वर्ग, समुदाय तथा विद्यार्थीका लागि शिक्षामा समान पहुँच, सहभागिता र अवसर सुनिश्चित गर्ने विषयलाई स्थानीय शिक्षा योजनाको प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।कार्यशालामा विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको नियमितता, सिकाइ उपलब्धि, शिक्षकको भूमिका तथा स्थानीय तह र विद्यालयबीचको समन्वयलगायतका विषयमा छलफल भएको थियो। शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गरी आगामी दिनमा समाधानका लागि स्थानीय तह, विद्यालय, नागरिक समाज तथा साझेदार संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।
कार्यशालामा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसीले स्थानीय तहको विकासको आधार नै गुणस्तरीय शिक्षा भएकाले शिक्षा सुधारका योजनालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयको आवश्यकता पहिचान गरी स्थानीय तहबाट आवश्यक सहयोग, अनुगमन र समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र चौधरीले शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न विद्यालय, अभिभावक, शिक्षक र स्थानीय सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सबै बालबालिकाले समान रूपमा शिक्षाको अवसर पाउने वातावरण निर्माण गर्न स्थानीय तहले प्राथमिकताका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभयो।
चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपक खत्रीले स्थानीय शिक्षा योजनाको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने काम तथा प्राथमिकता पहिचान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार कार्यशालाबाट प्राप्त सुझाव तथा छलफलका आधारमा तयार हुने कार्ययोजनालाई नगरपालिकाका आगामी शैक्षिक कार्यक्रमसँग जोडेर कार्यान्वयन गरिनेछ।
Accountability Lab Nepal का अमरेश यादवले शिक्षा क्षेत्रमा प्रभावकारी सुधारका लागि स्थानीय आवश्यकता र सरोकारवालाको सहभागितामा योजना निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले समतामूलक तथा समावेशी शिक्षाका लागि सबै वर्ग र समुदायका विद्यार्थीको पहुँच, सहभागिता र अवसर सुनिश्चित गर्न साझेदार संस्थाहरूले स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।
कार्यशालामा वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी, वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र चौधरी, शिक्षा शाखा प्रमुख दिपक खत्री, महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बराल, विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षक, नागरिक समाज तथा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साझेदार संस्थाका अमरेश यादव, अनिता कुमारी यादव र पूजा कुमारीलगायतको पनि सहभागिता रहेको थियो।
नगरपालिकाका अनुसार कार्यशालालाई ACCESS, PIN, Accountability Lab Nepal, NCE Nepal र NDWA ले सहयोग गरेका थिए। कार्यशालाबाट तयार गरिएको कार्ययोजनालाई स्थानीय शिक्षा क्षेत्रका आगामी कार्यक्रम तथा गतिविधिसँग जोडेर कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।
Comments