रौतहट, असोज १५ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्ना सात जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ।ज्येष्ठ नागरिक दिवसका अवसरमा साकोसको कार्यकक्षमा आयोजित कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्यहरू गजेन्द्र सिंह भट्टराई, हरि कुमार पोखरेल, देवी बहादुर सापकोटा, हरि प्रसाद बराल, टीका प्रसाद भट्टराई, चेतनाथ कोइराला र तृण प्रसाद दुलाललाई सम्मान गरिएको हो।कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष वसन्त कुमार आचार्यले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले ज्येष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका महत्वपूर्ण स्रोत भएकाले उनीहरूको सम्मान र योगदानको कदर गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो। उहाँले ज्येष्ठ सदस्यहरूप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा साकोसका कोषाध्यक्ष भीम बहादुर विकले उपस्थित ज्येष्ठ सदस्यहरूलाई स्वागत गर्नुभएको थियो। साकोसका सल्लाहकार कालिन्दी घिमिरेले ज्येष्ठ नागरिकको अनुभव, योगदान र जीवनबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताउनुभयो।
सम्मानितमध्ये ज्येष्ठ सदस्य तृण प्रसाद दुलालले संस्थाले आफ्ना ज्येष्ठ सदस्यलाई सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यस्तो सम्मानले ज्येष्ठ नागरिकमा अपनत्व र उत्साह बढाउने बताउनुभयो।
त्यस्तै अर्का सम्मानित सदस्य गजेन्द्र सिंह भट्टराईले ज्येष्ठ नागरिकको सम्मान केवल औपचारिकतामा सीमित नभई उनीहरूको अनुभव र सुझावलाई व्यवहारमा समेत उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
छोटो तथा आत्मीय वातावरणमा सम्पन्न कार्यक्रमको सञ्चालन साकोसका सह–व्यवस्थापक नवीन अधिकारीले गर्नुभएको थियो।
Comments