चन्द्रपुर, १७ असोज / रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कुलबहादुर थापा निर्विरोध चयन हुनुभएको छ। संस्थाको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभाले संस्थाको अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो। सभाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा संस्थाका पूर्व अध्यक्ष गणेश पौडेल प्रमुख हुनुहुन्थ्यो। कार्यक्रममा संस्थाका पदाधिकारी, पूर्व पदाधिकारी, सल्लाहकार तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
अध्यक्षमा चयन भएपछि थापाले आफूलाई संस्थाको नेतृत्व गर्ने अवसर प्रदान गर्नुभएकोमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निर्वाचन उपसमिति, सल्लाहकार, पूर्व तथा निवर्तमान पदाधिकारी एवं सम्पूर्ण शेयर सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आगामी कार्यकालमा शेयर सदस्यहरूको हकहित, आर्थिक समृद्धि र संस्थाको दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। इमानदारी, पारदर्शिता, उत्तरदायित्व र सहकार्यलाई आधार बनाएर संकल्प साकोसलाई अझ सबल, विश्वसनीय र सदस्यकेन्द्रित संस्थाका रूपमा अघि बढाउने उहाँले बताउनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका पूर्व अध्यक्ष गणेश पौडेलले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ। उहाँले संस्थालाई वर्तमान अवस्थासम्म पुर्याउन संस्थाका शेयर सदस्य, सञ्चालक तथा कर्मचारीहरूले गरेको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि संस्थाको हित र सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।पौडेलले संस्थाको वित्तीय अनुशासन, पारदर्शिता र विश्वसनीयतालाई कायम राख्दै नयाँ कार्यसमितिले संस्थालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
हाल संकल्प साकोसमा ४ हजार ९ सय ७९ शेयर सदस्य रहेका छन् भने संस्थाको पुँजी ९८ करोड ६७ लाख रुपैयाँ रहेको अध्यक्ष थापाले बताउनुभएको छ। उहाँले संस्थालाई यो अवस्थासम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण कर्मचारीप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिरञ्जीवी गौतम, सचिवमा अवधेशहरि भट्टराई र कोषाध्यक्षमा कृष्ण चन्द्र पोखरेल चयन हुनुभएको छ। सदस्यहरूमा राज किशोर गुप्ता, शारदा भण्डारी, भवानी कुमारी, बसन्ती खड्का र राजन सापकोटा चयन हुनुभएको छ।त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा बलराम गौतम तथा सदस्यहरूमा राज नारायण चौतारी र धन कुमारी बडाल चयन हुनुभएको छ।
अध्यक्ष थापाले ‘सहकार्यबाट समृद्धि, विश्वासबाट संकल्प’ भन्ने भावनाका साथ संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Comments