रौतहट, १७ असार/ रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रभु बैंक लिमिटेड चन्द्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकले शिक्षक तथा विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले विभिन्न सामग्री प्रदान गरेको हो।
बैंकले विद्यालयलाई शिक्षकका लागि १ थान लकरसहितको दराज, १ थान पुस्तक शोकेस तथा विद्यार्थीहरूको सहज अध्ययनका लागि ६ थान उच्चगतिको सिलिङ फ्यान उपलब्ध गराएको छ।अत्यधिक गर्मीका कारण कक्षाकोठामा पठनपाठन गर्न विद्यार्थी तथा शिक्षकलाई भइरहेको समस्या समाधानका लागि आवश्यक सामग्री सहयोग गरिएको प्रभु बैंक चन्द्रपुर शाखाले जनाएको छ। सामुदायिक विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी गरिएको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष टंकेश्वर चौधरी, प्रभु बैंक लिमिटेड चन्द्रपुर शाखाका शाखा प्रबन्धक दिनेश कर्णसहित बैंक परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आर्यन झाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकले गरेको सहयोग प्रशंसनीय र अन्य संघ–संस्थाका लागि अनुकरणीय रहेको बताउनुभयो। उहाँले यस्ता सहयोगले सीमित स्रोत–साधन भएका सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।
विद्यालय परिवारले प्रभु बैंक लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै अन्य बैंक, संघ–संस्था तथा व्यवसायिक निकायहरूलाई पनि सामुदायिक विद्यालयको आवश्यकता अनुसार सहयोगका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको समर्पणले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भन्दै सहभागीहरूले प्रभु बैंकको पहलको प्रशंसा गरेका थिए।
Comments