रौतहट, १९ असार / नेपाली सेनाले नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा स्थानीय समुदायको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले निर्माण गरेको महिला तथा पुरुष शौचालय शुक्रबार एक विशेष समारोहबीच समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।

नेपाली सेनाको श्री नारायणदल गणद्वारा चन्द्रपुर नगरपालिका–२ जुडिवेला स्थित श्री आधारभूत विद्यालय, असनवामा अध्ययनरत विद्यार्थीहरूको सुविधालाई लक्षित गर्दै निर्माण गरिएको शौचालयको समुद्घाटन श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले गर्नुभएको हो। समुद्घाटनपछि उहाँले उक्त शौचालय चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जयकुमार चौधरीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।नेपाली सेनाले हरेक वर्ष स्थानीय आवश्यकताको आधारमा सञ्चालन गर्दै आएको “शीघ्र प्रभावी आयोजना (QIP)” अन्तर्गत उक्त शौचालयको निर्माण कार्य २०८२ चैत २२ गतेदेखि सुरु गरिएको थियो।

रौतहट जिल्लामा तैनाथ श्री नारायणदल गणका सकलदर्जाहरूको सक्रिय सहभागिता र परिश्रमबाट निर्माण सम्पन्न भएको यो आयोजना विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।कार्यक्रमका अवसरमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले पृतनापति उपरथी भुवन खत्री, नं. २८ बाहिनी अड्डाका बाहिनीपति तथा श्री नारायणदल गणका गणपतिलाई धन्यवादस्वरूप कदरपत्र प्रदान गर्नुभएको थियो।

समुद्घाटन कार्यक्रममा श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्री, चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी, नं. २८ बाहिनी अड्डाका बाहिनीपति, वडा नं. २ र ७ का अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजका अगुवा, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी भुवन खत्री, उपप्रमुख जयमाला चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जयकुमार चौधरीले विद्यालयमा आधारभूत सरसफाइ पूर्वाधारको विकासले विद्यार्थीहरूको स्वास्थ्य, स्वच्छता र अध्ययन वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले नेपाली सेनाले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखी सञ्चालन गरेका यस्ता जनहितमुखी कार्यक्रमले नागरिक–सैनिक सम्बन्धलाई अझ आत्मीय र विश्वासिलो बनाएको धारणा राख्नुभयो।नेपाली सेनाका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधार विकासका क्षेत्रमा सञ्चालन गरिएका शीघ्र प्रभावी आयोजनाहरूले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै संस्थाको जनउत्तरदायी भूमिकालाई थप सशक्त बनाइरहेका छन्।

कार्यक्रमको समापनमा पृतनापति भुवन खत्रीले आयोजना सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय, सञ्चारकर्मी तथा नेपाली सेनाका सम्पूर्ण सकलदर्जाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
Comments