रौतहट, २९ श्रावण / चन्द्रपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा रौतहटको चन्द्रपुर नगरपालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ। चन्द्रनिगाहपुर अस्पतालको प्राङ्गणमा रहेको भवनमा स्थापना गरिएको केन्द्रको शुक्रबार एक कार्यक्रमबीच चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले र तिलगङ्गा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा नगर प्रमुख काफ्लेले चन्द्रपुर र आसपासका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न सामुदायिक आँखा केन्द्र महत्वपूर्ण हुने बताउनुभयो। उहाँले स्थानीय तह र विशेषज्ञ स्वास्थ्य संस्थाबीचको सहकार्यबाट नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण भएको उल्लेख गर्दै केन्द्रको प्रभावकारी सञ्चालनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तिलगङ्गा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले आँखाको समस्या समयमै पहिचान र उपचार गर्न सके धेरैजसो अवस्थामा दृष्टि जोगाउन सकिने बताउँदै सामुदायिक तहसम्म आँखा सेवा विस्तार गर्ने उद्देश्यअनुसार चन्द्रपुरमा केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले केन्द्रबाट स्थानीय नागरिकले सहज रूपमा आँखा परीक्षण तथा आवश्यक उपचारसम्बन्धी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष निलहरी कोइरालाले नगरपालिकाका नागरिकका लागि सामुदायिक आँखा केन्द्र आवश्यक सेवा भएको बताउँदै केन्द्रलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विशेषगरी ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई केन्द्र सञ्चालनबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा स्थानीय तह र विशेषज्ञ संस्थाबीचको सहकार्य सकारात्मक रहेको बताउँदै केन्द्रबाट नागरिकले गुणस्तरीय सेवा पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले केन्द्रको सेवा र पहुँचबारे नागरिकलाई जानकारी गराउन सञ्चार क्षेत्रले समेत भूमिका निर्वाह गर्ने बताउनुभयो।
त्यस्तै, चन्द्रनिगाहपुर अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले अस्पताल परिसरमै सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउनु स्थानीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले अस्पताल र आँखा केन्द्रबीच आवश्यक समन्वय गरी बिरामीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाइने उल्लेख गर्नुभयो।
कार्यक्रममा तिलगङ्गा आँखा प्रतिष्ठानका मानव संसाधन प्रबन्धक मुकेशकुमार सिंह, चन्द्रपुर नगरपालिका–२ का वडाध्यक्ष दुत्तबहादुर थिङ, वडा नं. ३ का वडाध्यक्ष बोधनाथ देवकोटा, वडा नं. ६ का वडाध्यक्ष सहदेव केसी, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विनोद पोखरेल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा, चन्द्रपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत श्रीवास्तव, स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरलगायतको उपस्थिति थियो।त्यसैगरी कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरी, नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्की, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमल्सिना, प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडी, प्रेस सेन्टर रौतहटका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्की लगायत सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पताल बाराका प्रमुख डाक्टर विष्णुहरि मरहट्टाले स्वागत मन्तव्य राख्नुभएको थियो। नयाँ केन्द्र सञ्चालनमा आएसँगै चन्द्रपुर तथा आसपासका क्षेत्रका नागरिकलाई आँखाको परीक्षण, परामर्श तथा आवश्यक उपचारका लागि सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
Comments