Skip to content

ट्राफिक सप्ताह अन्तर्गत रौतहटमा सवारी चालकको स्वास्थ्य परीक्षण, मापसे र लापसे जाँच

IMG-20260622-WA0024
प्रकाशित:
शब्दको आकार

रौतहट, ८ असार / जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत सवारी चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा प्रवद्र्धन तथा चालकहरूको स्वास्थ्य अवस्थाबारे सचेतना बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा चालकहरूको रक्तचाप (ब्लड प्रेसर), रक्तमा चिनीको मात्रा (ब्लड सुगर), मानसिक स्वास्थ्य अवस्था तथा आँखाको परीक्षण गरिएको थियो।

त्यसैगरी शंकास्पद देखिएका केही चालकहरूको मादक पदार्थ सेवन (मापसे) तथा लागूपदार्थ सेवन (लापसे) सम्बन्धी परीक्षण समेत गरिएको थियो । जस क्रममा ३ जना चालकले लापसे गरेको पाइएको थियो । ती चालकहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य परीक्षण चन्द्रपुर हस्पिटल प्रालि र नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालद्धारा सञ्चालित आँखा तथा कान उपचार केन्द्र चन्द्रनिगाहपुर स्वास्थ्यकर्मीहरूले गरेका थिए ।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रुपा लाबुङ लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले चालकको स्वास्थ्य र सडक सुरक्षाबीच प्रत्यक्ष सम्बन्ध रहेको बताए । उनले भने, “सवारी चालकको शारीरिक तथा मानसिक अवस्था राम्रो भए मात्रै सुरक्षित यात्रा सम्भव हुन्छ। नियमित स्वास्थ्य परीक्षणले सम्भावित जोखिम पहिचान गर्न र दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्छ।”

1000353850

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रुपा लाबुङले यस्ता कार्यक्रमले चालकहरूलाई स्वास्थ्यप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने बताइन्। उनका अनुसार ट्राफिक नियमको पालना जत्तिकै चालकको स्वास्थ्य अवस्थाले पनि सडक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्छ ।

चन्द्रपुर हस्पिटल प्रालिका स्टाफ नर्स देविका घिसिङका अनुसार चालकमा हुने उच्च रक्तचाप, मधुमेह, मानसिक तनाव, दृष्टि समस्या तथा मादक पदार्थ वा लागूपदार्थ सेवनका कारण सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य परीक्षणमार्फत यस्ता समस्या समयमै पहिचान गर्न आवश्यक रहेको छ ।

1000353852

यस्ता कार्यक्रमले चालकहरूमा नियमित स्वास्थ्य जाँच गर्ने बानी विकास गर्नुका साथै सुरक्षित सवारी सञ्चालनप्रति जिम्मेवारी भावना बढाउने नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालद्धारा सञ्चालित आँखा तथा कान उपचार केन्द्र चन्द्रनिगाहपुरका डाक्टर रियाज हविवको भनाइ छ । उनले परिक्षणको क्रममा केही चालकहरुमा आँखाको दृष्टि तथा एलर्जीको समस्या देखा परेको जानकारी दिदैं उनीहरुलाई थप उपचारको लागि सुझाएको बताए ।

1000354021

यस्ता कार्यक्रमले सवारी यात्रु, पैदलयात्री तथा समग्र सडक प्रयोगकर्ताको सुरक्षामा सकारात्मक प्रभाव पार्ने आम बुझाइ रहेको छ । मापसे र लापसे परीक्षणले जोखिमपूर्ण व्यवहार नियन्त्रण गर्न सहयोग पुग्ने भएकाले सडक दुर्घटना न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।कार्यक्रममा सहभागी चालकहरूले यस्ता स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह अवधिभर सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

साझेदारी गर्नुहोस्

रौतहट अपडेट संवाददाता
Author
रौतहट अपडेट संवाददाता
Published 24 stories
Active since May 27, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts