रौतहट , २७ फागुन / राजपुर नगरपालिकामा पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यले डमारदेखि राजपुर सिमानासम्मको सडक कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ। राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलमले आइतबार एक कार्यक्रमका बीच राजपुर नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने उक्त सडकको शिलान्यास गर्नुभएको हो।नगरपालिकाले स्थानीयवासीको आवतजावतलाई सहज बनाउने तथा क्षेत्रको समग्र विकासलाई गति दिने लक्ष्यसहित उक्त सडक निर्माण कार्य अघि बढाएको जनाएको छ। डमारदेखि राजपुर सिमानासम्म निर्माण हुन लागेको कालोपत्रे सडकले वर्षौंदेखि धुलाम्मे र हिलोयुक्त सडकको समस्या भोग्दै आएका स्थानीयवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख डा. आलमले नगरपालिकाको समग्र विकासका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले सडक, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाको पहुँच विस्तार गर्दै राजपुर नगरपालिकालाई समृद्ध नगरको रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
“सडक विकासको मुख्य आधार हो। सडक राम्रो भएमा व्यापार, शिक्षा, स्वास्थ्य सेवा र दैनिक जीवनका सबै गतिविधि सहज हुन्छन्,” नगर प्रमुख आलमले भन्नुभयो, “त्यसैले नगरपालिकाले आवश्यकताका आधारमा विभिन्न सडकहरू स्तरोन्नति गर्ने योजना अघि बढाइरहेको छ।”उक्त सडक निर्माण सम्पन्न भएपछि राजपुर नगरपालिका वडा नं. ३ का साथै आसपासका बस्तीका बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। विशेषगरी विद्यार्थी, किसान, व्यवसायी तथा सर्वसाधारणलाई आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन्।
कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधि, स्थानीय अगुवा, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले नगर प्रमुखको पहलमा सुरु भएको विकास निर्माणको कामप्रति खुशी व्यक्त गरेका थिए।स्थानीय बासिन्दाहरूले नगर प्रमुख डा. राजिक आलमले नगरपालिकामा विकास निर्माणका कामलाई निरन्तरता दिँदै आएको भन्दै प्रशंसा गरेका छन्। उनीहरूले यस सडक निर्माणले राजपुर नगरपालिकाको पूर्वाधार विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।
नगरपालिकाका अनुसार निर्धारित समयभित्रै गुणस्तरीय रूपमा सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक निर्माण कार्य पूरा भएपछि यस क्षेत्रको यातायात सेवा थप व्यवस्थित हुने र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।राजपुर नगरपालिकाले आगामी दिनमा पनि विभिन्न वडाहरूमा सडक स्तरोन्नति, पुल निर्माण तथा अन्य पूर्वाधार विकासका योजनाहरूलाई निरन्तरता दिने जनाएको छ।
Comments