रौतहट, १६ चैत / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा नेकपा एमाले रौतहट जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।आइतबार ज्ञापनपत्र बुझाउनु अघि जिल्ला अध्यक्ष सचितानन्द साहको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताले नारा–जुलुससहित प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा “नेकपा एमाले जिन्दाबाद”, “विदेशीका मतियार गृहमन्त्री राजीनामा दे”, “बालेन सरकार मुर्दाबाद” तथा “केपी ओली र रमेश लेखकलाई तत्काल रिहा गर” जस्ता नाराहरू घन्काइएको थियो।
एमालेका नेता कार्यकर्ता सहितको समूहले रौतहटका प्रमुख जिल्लाधिकारी दिनेश सागर भुसाललाई उहाँकै कार्यकक्षमा ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ता सहित आरती भण्डारी, उपेन्द्र साह र कुन्दन कुशवाहाको उपस्थिति रहेको थियो। त्यस्तै पूर्व केन्द्रीय सदस्य रेखा झा , जिल्ला उपाध्यक्ष रुपेश पटेल, जिल्ला सचिव बाबुराम दाहाल, उपसचिव मुना लामीछाने, युवासंघका जिल्ला संयोजक संजिव राई लगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले नेताद्वयको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले लोकतान्त्रिक मूल्य मान्यताविपरीत गरिएका यस्ता कदमप्रति कडा आपत्ति जनाउँदै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।
Comments