Skip to content

चन्द्रपुर नगरपालिकामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

Screenshot_20260526_135928_Gallery
प्रकाशित:
शब्दको आकार

रौतहट, १२ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका मा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ। अस्ट्रेलियन एड र ADRA Nepal को आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपालले स्थापना गरेको उक्त केन्द्र मंगलबार एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

नगरपालिकामा स्थापना गरिएको यस केन्द्रले हावा, पानी, शीत, वर्षा तथा सूर्यको तापक्रम सम्बन्धी तथ्याङ्क सङ्कलन गर्नेछ। सङ्कलित तथ्याङ्कका आधारमा मौसमको अवस्था विश्लेषण गरी किसानलाई समयमै सूचना उपलब्ध गराउन सकिने विश्वास गरिएको छ।कार्यक्रमका प्रमुख अतिथि रामअयोध्या राय यादवले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौती सामना गर्न वैज्ञानिक प्रविधिको आवश्यकता रहेको बताउनुभयो। उहाँले मौसम सम्बन्धी सही जानकारीले किसानलाई खेतीपातीको उचित समय निर्धारण गर्न सहज हुने उल्लेख गर्दै यस्ता प्रविधिले उत्पादन वृद्धि र क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

विशिष्ट अतिथि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफ्लेले कृषि तथा जलवायु मापन केन्द्र चन्द्रपुरका किसानका लागि निकै उपयोगी सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले मौसमको पूर्व जानकारी पाएपछि किसानले बाली लगाउने समय, सिँचाइ व्यवस्थापन, मल प्रयोग तथा रोग–कीराको जोखिमबारे समयमै तयारी गर्न सक्ने बताउनुभयो। “जलवायु परिवर्तनले खेती प्रणालीमा असर पारिरहेको अवस्थामा यस्तो केन्द्रले किसानलाई सुरक्षित र व्यवस्थित कृषि प्रणालीतर्फ अघि बढाउन मद्दत पुर्‍याउँछ,” नगरप्रमुख काफ्लेले भन्नुभयो।

उपप्रमुख जयमाला चौधरी ले कृषि क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउँदै यस केन्द्रबाट प्राप्त तथ्याङ्कले स्थानीय तहलाई विपद् व्यवस्थापन तथा कृषि योजना निर्माणमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले यस मापन केन्द्रबाट आउने तथ्याङ्कबाट कृषकलाई मात्र नभएर विपदका लागि पनि फाइदाजनक हुने र सुरक्षा निकायले त्यसको पूर्व तयारी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका वडाध्यक्षहरू, कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवाला तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनले गर्नुभएको थियो। मापन केन्द्रबाट प्राप्त हुने मौसमसम्बन्धी सूचनाले किसानलाई समयमै सावधानी अपनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। अत्यधिक वर्षा, खडेरी, शीतलहर वा अत्यधिक तापक्रमको पूर्व जानकारी पाएपछि किसानले बाली जोगाउन आवश्यक कदम चाल्न अध्यक्ष हुसेनले बताउनुभयो।

यसले कृषि उत्पादनमा हुने सम्भावित क्षति कम गर्नुका साथै खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। मापन केन्द्र स्थापना भएपछि कृषिमा वैज्ञानिक अभ्यास बढ्ने, मौसमजन्य विपद्को जोखिम कम हुने तथा नागरिकले समेत दैनिक जीवनमा आवश्यक मौसम जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 58 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts