रौतहट, १० असार/ रौतहट प्रहरीले श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरका अनुसार फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त गौतमको अनुसार यादवले गत २०८२ साल फागुन ३ गते आफ्नै श्रीमती ३२ वर्षीया आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्या पश्चात फरार रहेका यादवको खोजी कार्य जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट निरन्तर भइरहेको थियो।
प्राविधिक विश्लेषण तथा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरको संयुक्त प्रहरी टोलीले फतुवा विजयपुर नगरपालिका–८ विजयपुरबाट यादवलाई नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको र घटनाको वास्तविक कारण, प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Comments